नेपालगन्ज भन्सारद्वारा लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजश्व असुली

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजश्व असुली गरेको छ ।
कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात १३० दसमलव ५५ प्रतिशत राजश्व असुली गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजश्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजश्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ ।