नेपालगन्जको गाईकाण्ड : कसको सजाय कति (सूची सहित)

जिल्ला अदालत सुर्खेतद्वारा नेपालगन्ज उपमहानगरपालिकाका १० जना कर्मचारीलाई कम्तीमा ३ महिनादेखि १६ महिनासम्म कैद सजायको फैसला

नेपालगन्ज : जिल्ला अदालत सुर्खेतले गौहत्या गरेको ठहर गर्दै नेपालगन्ज उपमहानगरपालिकाका १० जना कर्मचारीलाई कम्तीमा ३ महिनादेखि १६ महिनासम्म कैद सजायको फैसला गरेको छ । ढुवानी सञ्चालक, चालक र सहचालक गरी ७ जनाले भने सफाइ पाएका छन् (पढ्नुस् सूची) ।
जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बाँस्कोटाका अनुसारका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार फैसला गरेको हो । गत वर्षको १३ भदौमा नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका कटकुवा, सुब्बाकुना, ब्यूरेनीलगायतका जंगलमा मृत फेला परेका थिए ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको बिहिवार सम्पन्न आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापन गर्दा कर्मचारीहरुले आदेशको पालना गर्ने क्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको छ । उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिए पनि दुर्घटनावश घटना भएको जनाएको छ ।