संसदीय चुनावको झल्को दिने गरी ५ स्थानीय तहका १२ केन्द्रबाट विश्वासिलोमा मतदान हुँदै

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको विश्वासिलो बचत तथा ऋण सहकारीले संसदीय निर्वाचनको झल्को दिने गरी मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्दैछ ।
शनिबार हुने सहकारीको २५औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि ठाकुरबाबा, मधुवन, बारबर्दिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १२ वटा मतदान स्थलमा २६ मतदान केन्द्रमा स्थानमा मतदान हुन गइरहेको निर्वाचन अधिकृत कलमबहादुर शाहीले बताए । २४औं साधारणसभा बाहेक यस अघिका अधिकांश निर्वाचनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन हुँदै आएको थियो ।
सहकारीको अध्यक्ष पदका लागि चित्रप्रसाद खनाल, बिना भट्टराई र धर्म रिजाल उम्मेदवार बनेका छन् । खनाल र भट्टराईले प्यानल नै बनाएका छन् । समावेशी उम्मेदवार चयनका कारण खनाल प्यानल बलियो देखिएको छ । ‘हामी सर्वसम्मत् नेतृत्व चयनका पक्षमा थियौं । केही व्यक्तिका निहीत स्वार्थका कारण त्यो प्रयास सम्भव भएन’, विश्वासिलोको अध्यक्ष पदका प्रत्यासी चित्रप्रसाद खनाल भन्छन्, ‘विश्वासिलोलाई प्रदेशकै नमूना सहकारी बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि सहकारीमा लामो अनुभव भएका समावेशी र सक्षम व्यक्तिलाई उम्मेदवार बनाएका छौं । यसअघि नेतृत्व सम्हालेका व्यक्तिको साथ र सहयोग छ । यही नै हाम्रो जितको आधार हो ।’
सहकारीको लेखा समिति संयोजकमा निवर्तमान अध्यक्ष देशु चौधरी र सदस्यद्वय वसन्ती सुनार र छविलाल आचार्य निर्विरोध चयन भइसकेका छन् । निर्वाचनमा १२ हजार ५ सय ७२ मतदाता सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुनेछ ।
आर्थिक वर्ष ०५१/५२ मा दर्ता भएको यो डिभिजन सहकारी कार्यालय बर्दियाको दर्ता नं. ४/१९ (१) रहेको छ । यो जिल्लाकै सबैभन्दा ठूलो सहकारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *