टीकापुरका ३ सय खरका छानामा कर्कटपाता लगाइँदै

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा कर्कटपाता लगाइदिने भएको छ ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलका अनुसार नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनौट गरेको छ । वडा कार्यालयबाट आएका सिफारिसका आधारमा वडा नं.१ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा ५ घरमा टिनको जस्तापाता लगाइने भएको छ । त्यस्तै, वडा नं. ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं. वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ ।

टीकापुर नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ । ‘‘नगरभरी ४०४ घर खरको छाना भएका तथ्यांक पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ’’, नगर प्रमुख रावलले भन्छन्, ‘एकल महिला, अपांगता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् । बाँकी घर आउँदो वर्ष खरमुक्त हुनेछन् ।’’

ती घरमा कर्कटपाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले बेहोर्ने तयारी गरेको छ । अनुगमनमा जाँदा एकल महिला, अपांगता भएकाहरुको घरमा जस्तापाता लगाइदिने मानिस छैन’’, रावलले प्रष्ट पारे, ‘‘लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।’’ एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले ४८ हजार रुपैयाँसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । संघीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गतवर्ष पनि जनता आवास कार्यक्रम अन्तर्गत १५ घर निर्माण गरेको थियो । नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं. ७ की जेष्ठ नागरिक माता विक निकै खुसी भएकी छन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगर प्रमुख रावललाई धन्यवाद दिइन् । ‘‘मेरो घर अब भत्कन मात्र बाँकी छ । आउने वर्षामा कहाँ जाउला भन्ने चिन्ता थियो’’, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भन्नुभयो, ‘‘अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भए । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।’’ कर्कटपाताको छाना पाउने भएपछि टीकापुरकै कौशीदेवी बुढाको पनि खुशीको सीमा छैन । ‘‘खर किन्ने रुपैया नभएर ५ वर्षदेखि चुहिने घरमा बस्न बाध्य थिए’’, उनले भनिन्, ‘‘अब घर मर्मत हुने भयो । निकै खुशी लागेको छ ।’’