निसान म्यागनाइटका ४ मोडलका नयाँ गाडी सार्वजनिक
नेपालगन्ज : जापानी मोटर उत्पादक कम्पनी निसानले ४ वटा मोडलका नयाँ म्यागनाइट गाडी नेपाली बजारमा ल्याएको छ ।
निसानको नेपालको काठमाडौंस्थित आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा २९ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने निसान म्यागनाइटका बिग, बोल्ड, ब्युटिफूल र अति आकर्षक ४ प्रकारका गाडी सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरमार्फत बुकिङ खुला गरेको हो । निसान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकले म्यागनाइटका हरेक मोडलहरु गाडीका नेपाली पारखीहरुको आकांक्षा पूरा गर्न सक्ने गरी निकै गहनताका साथ डिजाइन गरिएको बताएका छन् ।
नेपालगन्जमा पनि निसानका नयाँ गाडी सार्वजनिक गरिएको छ । निसानको बाँके र बर्दियाको अधिकृत बिक्रेता देवमंगल इन्जिनियरिङ प्रालि नेपालगन्जले नयाँ गाडी सार्वजनिक गर्दै बुकिङ खुला गरेको प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठ भन्छन्, ‘ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं ।’ नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधाहरू छन जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने छ। समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।