राजापुर भन्सारमा ३० प्रतिशत मात्र राजस्व असुली

शक्ति परियार । राजापुर
बर्दियाको राजापुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ३० प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
भन्सार प्रमुख चक्र बहादुर सोनीका अनुसार चालु आर्थिक माघ मसान्तसम्म १ करोड ४० लाख रुपैयाँको लक्ष्य रहेकोमा ७८ लाख ८० हजार बराबर मात्र राजश्व संकलन भएको छ । यो वर्ष २ करोड ३६ लाख रुपैयाँको लक्ष्य छ । प्रमुख सोनीले मेरो खुसी डटकमसँगभने, माघ महिनासम्म ३० प्रतिशत मात्र राजश्व संकलन भएको छ । यो वर्ष लक्ष्य अनुसारको राजस्व संकलन नहुने देखिन्छ ।
गत आर्थिक वर्ष मा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ वार्षिक लक्ष्य रहेकोमा १ करोड ७८ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जिल्लाको मुल नाका कतर्नियाबाट राजस्व तिरेर सामानहरु आउन छोडेपछि राजापुर भन्सारमा राजश्व चुहावट हुँदै गएको हो । पश्चिममा कैलालीको खक्रौलाघाटस्थित नेपाल भारत जोड्ने पुलको निर्माण र छोटी भन्सार कार्यालय स्थापना पश्चात राजापुर भन्सार कार्यालयमा राजश्व चुहावटको कारण बनेको प्रमुख सोनी बताउँछन् । बर्सेनी लक्ष्यभन्दा थोरै राजश्व संकलन हुने हुँदा भन्सार प्रमुख छोटी भन्सार कार्यालय गुलरियामा बस्दै आएका छन् ।