यातायात व्यवस्था कार्यालयको भवन बनाउन उपमहानगरले १० कठ्ठा जग्गा उपलब्ध गराउने
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले यातायात व्यवस्थालाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगन्ज–२० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालयलाई र वडा नम्बर १७ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको हो । सो स्थानमा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २/२ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । गायत्रीनगरमा ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने भएको छ ।
बैठकले भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा अव्यवस्थित बसोवासका लागि क्षेत्र निर्धारण गर्ने विषयमा सहजिकरणका लागि ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरि नगर प्रमुख राणाको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सम्मिलित समिति गठन गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । बैठकमा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर खत्री र नाथमका विपिन नेपालले जग्गा प्राप्त हुनासाथ भवन निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।