बालिकालाई कुटपिट गरी जबरजस्ती करणी प्रयास गर्ने व्यक्ति भारतवाट पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जकी अन्दाजी १६ वर्षीया बालिकालाई मरणासन्न हुनेगरी कुटपीट गरेर जबरजस्ती करणीको प्रयास गरी फरार रहेका एक व्यक्ति लाई भारतवाट पक्राउ गरेको छ । डेढ महिना अघि जबरजस्ती करणीको प्रयास गरी ज्यान मार्ने मनसायले कुटपिट गरेर फरार रहेका नेपालगन्ज ४ घोसी टोलका जुनेद हल्वाईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरीएको हो ।
हलवाईले गत माघ १६ गते स्कुलवाट घर फर्कंदै गरेकी नेपालगन्जकी ती बालिकालाई एक होटलमा लिएर कुटपीट गरी बलात्कार प्रयास गरेका थिए । बालिकाले नमानेपछि ज्यान मार्ने मनसायले निजको अनुहार र घाँटीमा सल (चुन्नी) कसी बेहोस बनाएर उनी भारततर्फ फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाका अनुसार उनलाई भारतिय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको विशेष टोलीले मंगलबार राती ११ः ३० बजे सीमावर्ती जमुनाहा नाका नजिकैवाट पक्राउ गरेको हो ।
उनी उपरको कसुर प्रमाणित भए मुलुकी फौजदारी संहिता २०७४ को दफा १९ को उपदफा ३ को ख बमोजिम ८ बर्ष कैद र दफा १८३ को ज्यानमार्ने सम्वन्धी कसुर अनुसार १० बर्ष कैद वा एकलाख जरीवाना हुनसक्ने प्रहरीको भनाई छ ।