बाँके, बर्दिया नाका हुँदै भारतमा पेट्रोलियम पदार्थ तस्करी

गुलरिया : पछिल्लो समय नेपालबाट भारतमा पेट्रोलियम पदार्थ तस्करी हुने गरेको छ ।
मूल्य अन्तरका कारण बाँके, बर्दियालगायत तराईका जिल्लाबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो । भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएका कारण तस्करहरुले नेपालबाट पेट्रोल, डिजललगायत तस्करी गरी भारत लैजाने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए । पेट्रोलियम पदार्थको तिब्र रुपमा तस्करी हुन थालेपछि त्यस्ता नाकामा कडाइ गरिएको उनको भनाइ छ । कडाइ गरेसँगै तस्करीमा संलग्नहरु सामान छोडेरै भाग्ने गरेका छन् । बुधबार बिहान साढे ६ बजे बढैयाताल गाउँपालिका ८ नँयाबस्तीस्थित नेपालबाट भारततर्फ लैजादै गरेको २ सय ९५ लिटर डिजल र २५ लिटर पेट्रोल बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरी नायव उपरीक्षक शाहीका अनुसार चार थान साइकलसहित बेवारिसे अवस्थामा फेला परेको तेल बरामद गरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको छ ।