धादिङ समाजलाई जितेर धम्बोझी क्लब लिगको तेस्रो स्थानमा उक्लियो
नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा घरेलु टिम धम्बोझी क्लब बुधबारको खेलमा जितसँगै ९ अंक जोड्न सफल भएको छ ।
नेपालगन्ज रंगशालामा जारी खेलमा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझीले धादिङ समाजलाई २–१ ले हराएको हो । धम्बोझीको जितमा बुधबार निशान लिम्बुले दुबै गोल गरेका थिए । उनले खेलको दुइ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ६१औं मिनेटमा टोलीका लागी दोस्रो गोल गरे । धादिङको तर्फबाट विजय भुजेलले १६औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच धम्बोझीका निशान लिम्बुले जिते । उनलाई खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाहले पुरस्कृत गरे । अंक तालिकामा १० अंक सहित स्टार सिटी कैलाली शीर्ष स्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक पुगेको छ । गोल भिन्नताको आधारमा त्रिवेणी दोस्रो र धम्बोझी तेस्रो स्थानमा छ ।
अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले हरायो । त्रिवेणीको जितमा लक्ष्मण रुचाल र विमल रानाले गोल गरे । लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने विमलले ७८औं मिनेटमा गोल गरे । खेलमा त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । उनलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले पुरस्कृत गरे ।