गाउँपालिकाको लगानीमा राप्ती सोनारी–३ मा विद्युत पुगेपछि बाँकेमा भयो पूर्ण विद्युतीकरण
भवनियापुर (बाँके) : राप्ती सोनारी गाउँपालिकाले वडा नंं. ३ मा आफ्नै लगानीमा विद्युत सेवा विस्तार गरेपछि बाँके अब पूर्ण विद्युतीकरणको जिल्ला भएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट एक दशक अघिदेखि विद्युत विस्तार सुरु गरिए पनि काममा ढिलाइ भएपछि गाउँपालिकाले आफ्नै ३ करोड ५४ लाख ४५ हजार रुपैयाँको बजेटमा गाउँमा विद्युत सेवा दिएको हो । बुधबार दिउँसो राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख सुरज गौतम, प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र प्रमुुख लखनलला मल्लिक र राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारुलगायतले वडाका आधा दर्जनभन्दा बढी स्थानमा स्वीच अन गरेर विद्युत सेवा शुभारम्भ गरेका थिए ।\
विद्युत उद्घाटन कार्यक्रममा स्थानीयले पञ्चेबाजा र थारु नाचगान गर्दै वडाको परिक्रममा गरेका थिए । विद्युत सेवा विस्तार गर्ने गाउँपालिकाका जनप्रतिनिधि र विद्युत प्राधिकरणका कर्मचारीले माला र अबिर लगाएर सम्मान गरेका थिए ।
गाउँपालिका अध्यक्ष थारुले सुरुमा वडाका १० घरमा मिटर जडान गरी सेवा पुगे पनि वडाका एक हजार तीन सय घरधुरीमा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘विद्युत प्राधिकरणले ढिलाइ गरेपछि पालिकाकै लगानीमा विद्युत विस्तारको काम सुरु गरेका हौं । काम थालेको ६ महिनाभित्रै विद्युत सेवा विस्तार गर्न सफल भएका छौं ।’
गाउँपालिकाले बुधबार एक समारोहबीच नेपाल विद्युत प्राधिकरणलाई विद्युतीकरण हस्तान्तरण गरेको छ । गाउँपालिकाको बजेटमा विद्युत सेवा विस्तार भए पनि स्थानीयले धामपुरमा ३३ केभी प्रसारण लाइनको सव स्टेशन परिसरको काउण्टरबाट विद्युतको महसुल बुझाउने प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र प्रमुुख लखनलला मल्लिकले प्रष्ट पारे । मल्लिकले राप्ती सोनारी ३ मा विद्युत सेवा विस्तार भएपछि बाँके पूर्ण विद्युतीकरण भएको जिल्ला भएको बताए ।
साबिकको फत्तेपुर गाविसको चार वटा समेटेर बनाएको राप्ती सोनारीको वडा नं. ३ मा पाँच हजार नौ सय १९ जनसंख्या छ । जहाँ एक हजार दुई सय दुई घर धुरी छन् । विद्युत सेवा पुग्दा बैंशा, नवलपुर, भगवतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँ लाभान्वित हुनेछन् ।