एकैदिन कोहलपुरका २ वडा बालविवाह मुक्त घोषणा
नेपालगन्ज : कोहलपुर नगरपालिकाले एकैदिन एकसाथ २ वटा वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।
कोहलपुर १२ को ज्ञानज्योति माध्यमिक विद्यालय परिसरमा बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख लुटबहादुर रावतले वडा नं. १२ लाई र उपप्रमुख सञ्जुकुमारी चौधरीले वडा नं. १३ लाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् ।
नगर प्रमुख रावतले २ वटा वडाबाट सुरु भएको बालविवाह मुक्त वडा घोषणा अभियान अन्य वडाहरुमा चाँडै गरिने बताए । उनले अब पनि कसैले बालविवाह गरेमा कानुन बमोजिमको कारबाही हुने चेतावनी पनि दिए । कार्यक्रममा उपप्रमुख चौधरीले नेपालको कानुनमा २० वर्ष नपुगी विवाह गर्न नमिल्ने व्यवस्था भएपछि मागेर गर्ने विवाह रोकिए पनि भागेर बालविवाह भइरहेको बारे चिन्ता ब्यक्त गरिन् । ‘बालविवाह मुक्त वडा त भयो अब समाजमा बालविवाह भए नभएकोबारे कडा निगरानीको खाँचो छ’, उनले भनिन् ।

वडा नं. १२ का कार्यवाहक अध्यक्ष नैनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा वडा नं. १३ का अध्यक्ष ओमप्रकाश वली, कोहलपुर नगरपालिकामा बालविवाह रोकथाम परियोजनाका लागि सहयोग गर्ने प्लान इन्टरनेशनल नेपालका कर्णाली प्रदेश क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक आशा बुढा, परियोजना सञ्चालन गर्ने स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल श्रेष्ठ, सचेतन किशोरी क्लबकी अध्यक्ष प्रतिक्षा वली, बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापा, राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाह रोकथाममा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मन्तव्य राखेका थिए । सो अवसरमा बालविवाह मुक्त वडा घोषणा गर्न सहयोग गर्ने मिसन टुडे दैनिकका समचारदाता डिल्ली शाहीसहित एक दर्जन संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कृतिका आचार्यले आमा शीर्षकको कविता र प्रतिक्षा वलीले नृत्य प्रस्तुत गरेकी थिइन् । किशोरी क्लब र बालक्लबका अनु रावत, रिता बुढा, रमेश वर, विजया गुरुङ, कृष्णप्रसाद उपाध्याय, नविन पुनलगायतका कलाकारले बालविवाहविरुद्धको नाटक प्रस्तुत गरेका थिए । बालविवाह मुक्त वडा घोषणा सभा सुरु हुनु अघि किशोरीहरुले वडा नं. १२ र १३ मा -याली निकालेका थिए ।









