खजुरामा क्यान्सर पत्ता लगाउने हिस्टोप्याथोलोजि सेवा सुरु
नेपालगन्ज : खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा हिस्टोप्याथालोजी सेवा सुरु भएको छ ।
अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा १ चैत देखि शंखास्पद विरामीमा मासुको टुक्रा निकालेर कस्तो प्रकारको क्यान्सर छ भनेर पत्ता लगाउने हिस्टोप्याथालोजी सेवा विस्तार गरेको हो । अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी क्यान्सर अस्पतालको मुख्य सेवाको रुपमा रहेको हिस्टोप्याथालोजी सेवा विस्तार गरेको जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यका अनुसार चैत्र १ गतेदेखी सुरु गरिएको सेवा अन्तगर्त हालसम्म १५ वटा क्यान्सरका केस पत्ता लागेको बताए ।
असोज देखि अस्पतालमा नयाँ व्यवस्थापन सुरु भएसंगै ६ महिनाको अवधिमा १ सय ८० बढि विरामीहरुलाई किमो थेरापी सेवा प्रदान गरिएको बताउँदै मंसिर ५ गतेबाट अप्रेसन सेवा सुरु गरि हालसम्म विभिन्न किसिमका अप्रेसनमा ९४ जनाले सेवा लिएको उनले जानकारी दिए । अस्पतालले विभिन्न विभागमा आवश्यक ३८ जना प्राविधिक तथा अप्राविधिक कर्मचारी भर्ना गरि सेवा सुचारु गरेको जनाएको छ । जसमध्य ११ जना विशेषज्ञ डाक्टर, मेडिकल अफिसर ४ जना, नर्सिङ अफिसर १, स्टाफ नर्स २ जना, ल्याव टेक्नोलोजिस्ट, ल्याव टेक्निसियन, रेडिएसन टेक्नोलोजिष्ट, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अपरेटर १÷१ जना र फार्मेसी सहायक, कार्यालय सहयोगी ३÷३ जना गरी ३८ जना जनशक्ती व्यवस्थापन गरेको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका सस्थापक तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालमा उपचारमा आउने गरिव तथा विपन्नवर्गका विरामीहरुलाई सहुलियत दिएको बताए । गाउँपालिकाकातर्फवाट समेत सहयोग रकम छुट्टयाएको उनले जानकारी दिए । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसीले अस्पतालले अवको ६ महिनाभित्र क्यान्सरका सम्पुर्ण उपचार सेवाहरु प्रदान गर्ने गरि सेवा विस्तार गरिने बताउँदै अस्पताल पुर्ण रुपमा संचालनको विधिवत उद्घाटन राष्ट्रपतिद्धारा गराउने तयारी भएको जानकारी दिए ।