नरैनापुरमा आगलागी हुँदा १२० घर जलेर नष्ट, तत्काल राहात वितरण

नेपालगन्ज : बाँकेको नरैनापुरमा आगलागी हुँदा कम्तीमा एक सय २० जलेका छन् ।
नरैनापुर ४ खोदवामा शनिबार दिउँसो ३ः३५ बजे फकिरे पठानको खरले छाएको कच्ची घरमा अचानक आगलागी भइ अन्य आसपासका घरहरुमा पनि आगो सल्किएको थियो ।
घटनास्थल गएर फर्केकी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले कति घर जले भन्ने एकीन नभइसकेको बताइन् ।
सांसद नमूनासहित बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानासहितको सुरक्षा निकाय प्रमुख प्रभावित क्षेत्रमा उद्दार र प्रतिकार्यमा खटिएका थिए ।
आगलानीको खबर प्राप्त हुनासाथ नरैनापुर गाउँपालिकाको एउटा र नेपालगन्ज उपमहानरपालिकाको २ वटा दमकल र कोहलपुर नगरपालिकाको एउटा दमकलले आगो निभाएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, रेडक्रसलगायको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट नरैनापुर ४ का ५५ वर्षका मिश्रीलाल पासी, उनकी पत्नी ५२ वर्षकी मायावाती पासी र ३५ वर्षकी गुणवाती पासी आगोले जलेर घाइते भएका थिए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित स्थानमा विपद् व्यवस्थापन समिति बाँकेबाट ४० थान टेन्ट, चिउरा ८६० किलो, २५० किलो भुजा, २ हजार ४ सय पोका चाउचाउ, १ हजार ४०० पोका बिस्कुट, ६० काटुन पानी पठाइएको छ ।
जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । त्यसैगरी नरैनापुर गाउँपालिकाले चामल १० बोरा, दाल २५ किलो, चिउरा २५ किलो, दालमोट १० किलो, र पानी १० कार्टुन पठाएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले राहात सहयोगका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरेका छन् । नरैनापुर गाउँपालिकामा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो ।