बाघको डरले शौचालय जाँदा थाल ठटाउँछन्
मुरली गोडिया । बर्दियाका भग्रैया, धनौरा र कालाञ्जरबाट फर्केर
भग्रैयाकी रुपा खनाल शौचालय जाँदा थाल ठटाउँछिन् । शौच गरेर फर्कँदा पनि थाल बजाउँदै आउँछिन् । भन्छिन्, ‘घरभित्र शौचालय छैन । बाघ छ कि छैन भनेर हेर्छौ । थाल ठटाउँदै जान्छौं । ठटाउँदै फर्कन्छौं । अहिल्यै खान्छ कि कहिले खान्छ भन्ने डर र त्रास छ ।’
बर्दियाको मधुवन नगरपालिका–३ की खनालले आफ्नै आँखा अगाडि गाउँकी रिनालाई बाघले आक्रमण गरेको देखेकी थिइन् । रुपा मात्र होइन, भग्रैयाका अधिकांश सर्वसाधारण बाघको त्रासमा छन् । जहाँ ६० बढी घरधुरी छन् । खाता जैविक मार्ग क्षेत्रको जन्यजन्तुबाट सबैभन्दा चपेटामा यही टोल छ । अहिलेसम्म यो वडाका ५ जनाको बाघ आक्रमणबाट मृत्यु भइसकेको छ ।
पत्रकार र वनकर्मीको टोली भग्र्रैयालगायत बाघ आक्रमणबाट मृृत्यु भएका व्यक्तिको परिवारको अवस्था बुझ्न गएको थियो । स्थानीले बिहान उठ्दा पाटेबाघका पाइला घर नजिक भेटिने गरेको अनुभव सुनाएका थिए । काल पर्खेर बसेको बताउँने गाउँलेका आँखा आँसुले टम्म भरिएका छन् । विपन्न परिवारका ती गाँउलेहरु खेतबारी, स्याउला जाँदा वा बजार जाँदा बाघले खाने हो की चिन्तामा छन् । वन्यजन्तुले कसैको भदै, कसैको श्रीमान, छोरा र बुहारी खाएको आँसुका ढिक्कासँग पीडा पोख्छन । कुराकानीका क्रममा उनीहरु घरिघरि बाघ आक्रमणबाट कसरी बच्न सकिन्छ भन्नेमा केन्द्रीत हुन्थे । जंगल क्षेत्रको बसाइले सन्तान भोकै रहने उनीहरुमा चिन्ता छ ।
गाउँ घेर्ने गरि तारबार लगाउने योजना लिएर नापजोख गर्दा आँखामा छारो हाल्ने कार्य प्रति स्थानीय रुष्ट छन् । बस्तीको दीर्घकालिन व्यवस्थापन गरेर वन्यजन्तुको आक्रमणबाट बच्न वा जोगाउँन सकिने गरी व्यबस्थापन गर्नुपर्ने बताउँछन्, स्थानीय केशवबहादुर पुन ।
सामुदायिक वन तथा निकुञ्ज मध्यवर्ति क्षेत्रका बासिन्दाले महिनादेखि बाघको डरले स्वतन्त्र हिडडुल गर्न र खेतबारीमा काम गर्न पाएका छैनन् । एक महिनायता घरमा बाँधेर राखेको एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा बाघले खाइसकेको छ । खाता जैविकमार्ग अन्तर्गत कोठियाघाट, भगरैया, बेलझुन्डी, धनौरा लगायतका गाउँ विगत दुई दशकदेखि वन्यजन्तुबाट पीडित छन् । भैसी चराउन गएको समय राजापुर–१० कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई पनि बाघले मा-यो । उक्त घटनाले पुरै गाँउ त्रसित भएको स्थानीय सोनाराम थारु बताउँछन् ।
एकपछि अर्को गर्दै बाघ आक्रमणबाट व्यक्तिको ज्यान जान थालेपछि सरकार बाघ नियन्त्रण प्रक्रियामा असफल भएको स्थानीय बताउँछन् । उनीहरुको वन्यजन्तु र मानव द्वन्द्वको व्यवस्थापन गरेर मात्र बाघसंरक्षण गर्न सुझाव छ ।