अग्रज पत्रकारको महासंघ नेतृत्वलाई ध्यानाकर्षण : सदस्य शुद्धिकरण गरौं

नेपालगन्ज : बाँकेका बरिष्ठ पत्रकारहरुले नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित नेतृत्वलाई सदस्य शुद्धिकरण गर्न ध्यानाकर्षण गराएका छन् ।


महासंघ बाँके शाखाको निर्वाचन समितिले नवनिर्वाचित टिमलाई आइतबार नेपालगन्जमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा पत्रकारहरुले यस्तो जोड दिएका हुन् । अधिवेशनको निर्वाचन समितिका संयोजक जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले सदस्यता शुद्धिकरण अभियान सञ्चालन नगर्ने हो भने भोलि पत्रकारको हक, हितमा काम गर्ने छाता संस्था महासंघमा गैरपत्रकारको बाहुल्यता हुने बताए । महासंघका पूर्व केन्द्रीय सदस्य प्रेम केसी निर्वाचनमा जित्नका लागि सदस्य बनाउने होडबाजी भए पनि अब सदस्यता शुद्धिकरणमा लाग्नुपर्नेमा जोड दिए । अर्का पूर्वकेन्द्रीय सदस्य झलक गैरेले गैरपत्रकारको प्रवेश बढेकाले मतदाताप्रति गौरव गर्ने अवस्था नरहेको बताए ।


महासंघ बाँके शाखाको यो निर्वाचनमा ३ सय २३ मतदाता थिए । तीमध्ये झन्डै आधा जतिलाई सबै पत्रकारले चिन्दैनथे । कार्यक्रममा महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीले भने पत्रकारहरुलाई आचार संहिता पालना गर्न आग्रह गरेका थिए । कार्यक्रममा निर्वाचन समितिका संयोजक पूर्णलाल चुके र निर्वाचन समितिका अधिकृत केशव कोइरालाले महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय र प्रदेश परिषद् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण र सपथ ग्रहण गराएका थिए ।