‘स्मार्ट सिटी’ बन्दै नेपालगन्ज सहर

सुरक्षाका लागि कुकुर पाल्ने नगरवासी सीसीटिभी क्यामेरा जडान गर्दैछन् । घर, पसल, टोल–गल्लीमा सुरक्षाका लागि सूचना प्रविधिको प्रयोगबाट नेपालगन्ज 'स्मार्ट सिटी' बन्दै
नेपालगन्ज–५ फुल्टेक्राका खेमराज शर्माको घरमा चोरीका लागि पर्खाल नाघ्दै गरेका युवाको सीसीटीभी क्यामेरामा कैद भएको फोटो

शिरीष रेग्मी । नेपालगन्ज
१२ मंसिर २०७७ राति ८ बजे नेपालगन्ज उपमहानगरपालिका–५ फुल्टेक्रास्थित खेमराज शर्माको घरमा एक जना मास्क लगाएका युवा पर्खाल नाघ्ने प्रयास गरिरहेका थिए । बरण्डामा साइकल थियो । घरको सीसी टिभी क्यामेरामा त्यो दृृश्य कैद भयो । ‘घरमा सबै काममा व्यस्त थिए । घरमा जडान गरिएका ६ वटा सीसीटिभी क्यामेरामध्ये एउटा क्यामेरामा एक जना व्यक्ति पटक पटक घरको पर्खाल नाघ्ने प्रयास गरिरहेको देखियो’, शर्माले घटनाबारे भने, ‘चोर आयो भनेर घरमा खैलाबैला मच्चिन थाल्यो । हल्ला सुनेर केटा भाग्यो । क्यामेरामा दृश्य कैद नभएको भए घरमा जे पनि अप्रिय घटना हुनसक्थ्यो ।’
शर्मा राज्यको कुनै उच्च ओहोदामा कार्यरत व्यक्ति होइनन् । जनताको सेवामा समर्पित हुन लागेका राजनीतिज्ञ हुन् । घरमा सीसीटीभी क्यामेरा जडान गरेका छन् । किन त ? उनी भन्छन्, ‘समय अनुसारको घरको सुरक्षाका विधि अवलम्वन नगर्ने हो भने नोक्सान हुने सम्भावना हुन्छ । बाहिरबाट घरभित्र फोहर फाल्ने, पार्किङ्गमा रहेको गाडीमाथि ढुङ्गा प्रहार गर्ने, घरको समान चोरी हुने खतरा हुन्छ । त्यसैले हामीले सुरक्षाको लागि घरमा सीसी टिभी क्यामेरा जडान गरेका हौं ।’
नगरमा सीसी टिभी क्यामेरा जडान गर्ने शर्मा एक्ला व्यक्ति होइनन् । विगतमा घरको सुरक्षाको लागि कुकुर पाल्ने गरिन्थ्यो । अहिले कुकुरलाई सोखको रुपमा पाल्ने र सुरक्षाको लागि नगरवासीले सीसी टिभी क्यामेरा जडान गरिरहेका छन् । घर मात्र होइन, उद्योग, कलकारखाना र पसलमा पनि सीसी टिभी क्यामेरा त अनिवार्य जस्तो भएको छ । पसलबाट पटक–पटक धेरै सामान चोरी हुन लागेपछि फुल्टेक्राकै शिव ट्रेडर्सले पनि सीसीटीभी क्यामेरा जडान गरे । ‘लेनदेनमा कुनै शंका भएमा तुरुन्तै सीसीटिभीको फुटेज हेर्ने गरेको छु । आफू पसलमा अनुपस्थिति हुँदा को–को आयो ? के–के गतिविधि भए सबै थाहा पाउन सजिलो हुन्छ’, सञ्चालक शिवकुमार जैसवालले सीसीटिभी क्यामेराको फाइदा दर्शाए ।
घर, सानादेखि ठूला व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र अस्पतालमा सीसीटीभी क्यामेराको प्रयोग भइरहेको नेपालगन्जमा सीसीटीभी क्यामेराका थोक बिक्रेता स्मार्ट टेक इन्फोसिसका प्रबन्ध सञ्चालक विष्णु कँडेल बताउँछन् । कँडेल सीसीटीभी क्यामेराको महत्व यसरी दर्शाउँछन्, ‘जसरी हामीले आफ्नो घर अथवा व्यापारमा सामान खरिद गर्नको लागि लगानी गर्छौं । त्यसरी नै आफ्नो घर, बच्चा र सम्पत्तिको सुरक्षाको लागि सीसीटीभी क्यामेराको जडान गर्नुपर्छ । हामी जहाँ भए पनि आफ्नो घरको निगरानी गर्नसक्छौं । यसले सुरक्षा र निगरानीमा ठूलो मद्दत पुग्छ ।’ उनले कम्तीमा साट्ठी हजार रुपैयाँदेखि आवश्यकता अनुसार लाखौँ रुपैयाँ खर्चेर सीसीटीभी क्यामेरा जडान गर्न सकिने जानकारी दिए । ‘कस्तो प्र्रविधि आवश्यक पर्ने हो ? सामानको विशेषता र प्रविधि प्रयोगको आधारमा मूल्य घटबढ हुन्छ । घरमा लगाउने सस्तो हुन्छ । ठूला सपिङ मलका लागि महंगो पर्नसक्छ ।’
नगरका जनप्रतिनिधि टोलमै सीसीटिभी क्यामेरा जडान कस्सिएका छन् । नेपालगन्ज–४ ले वडाका आधा दर्जनभन्दा बढी स्थानमा सीसीटिभी क्यामेरा जडान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नगरका मुख्य चोकमा मात्र ४७ वटा सीसीटिभी क्यामेरा जडान भएका छन् । प्रहरी कार्यालय र सार्वजनिक स्थानमा मात्र एक सयभन्दा बढी सीसीटिभी क्यामेरा छन् । वडा प्रहरी कार्यालय नेपालगन्जको कन्ट्रोलमा काम गर्ने एक प्रहरीले सीसीटिभी क्यामेराको फुटेजबाट घटना र दुर्घटनाको अवलोकन र अनुसन्धानमा सहयोग मिलेको बताए ।
सीसीटिभी क्यामेराको धेरै फाइदा भए पनि प्रविधिको दुरुपयोग गर्न कानुनले बन्देज लगाएको छ । सीसीटीभी क्यामेरालाई शौचालय, बाथरूम र लुगा परिवर्तन गर्ने कोठामा जडान गर्न अनुमति हुँदैन । गैरकानुनी रुपमा जडान गरेर कुनै पनि व्यक्ति वा संस्थाले सीसीटीभी फुटेज सार्वजनिक वा व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्न पनि मिल्दैन ।
सीसीटीभी क्यामेरा जडान गर्दा आपराधिक गतिविधि नियन्त्रण गर्न, कार्यालयमा हुने गैरकानुनी गतिविधिको अनुगमन गर्नुको साथै शान्ति र सुरक्षा, अपराधको अनुसन्धान गर्न धेरै उपयोगी साबित भएको छ । जीवनमा प्रभाव पर्ने घटना हाम्रै वरिपरी घटेका हुन्छन् । सीसीटिभी क्यामेरा जस्ता सूचना प्रविधिको प्रयोग गर्दा घटनाका दृश्यबाट अपराधीलाई पक्राउ गर्न र दोषीलाई कारबाही गर्न बलियो प्रमाण पनि बन्छ । त्यसैले त सरकारी र गैरसरकारी निकायहरुले सीसीटिभी क्यामरा जडानलाई उच्च प्राथमिकता राखेका हुन्छन् । व्यक्ति, संस्था र सरकारी निकायले सूचना प्रविधिमा गरेको लगानीबाट नेपालगन्ज सहर स्मार्ट सिटीतिर उन्मुख भइरहेको छ ।

नेपालगन्जको एक पसलमा सीसीटिभी क्यामेराको निगरानी