८० करोडको दुध र मख्खन नेपालगन्ज दुग्ध बितरण आयोजनाको गोदाममा थन्कियो

नेपालगन्ज : नेपालगन्ज दुग्ध बितरण आयोजना कोहलपुरले किसानवाट खरिद गरेको ८० करोड बराबरको दुध र दुधजन्य पदार्थ गोदाममा थन्किएको छ । कोरोना संक्रमणका कारण लकडाउन हुँदा विक्रि वितरण नभएपछि उक्त दुध र दुधजन्य पदार्थ गोदाममा थन्किएको हो ।
आयोजनाका अनुसार कोरोना संक्रमणका कारण दुध र दुधजन्य पदार्थ विक्रि नभएपछि ९ सय मेट्रिक टन पाउडर दुध र ४ सय मेट्रिक टन मख्खन आयोजनाको गोदाममा थन्किएको छ । आयोजना प्रमुख योगेन्द्र शाहले उत्पादित दुध र दुधजन्य बस्तु बिक्रि नहुँदा किसानहरुलाई चार महिना देखि दुधको भुक्तानी दिन नसकिएको बताए । ‘किसानहरुलाई दुधको भुक्तानी दिन सकीएको छैन’ उनले भने ‘दुध र मख्खन बिक्रि नहुँदा संस्थानलाई आर्थिक भार परेको छ ।’
यता चैत देखि असार सम्मको एक करोड बढी रकम भुक्तानी नपाउँदा दुध बेचेर जीविकोपार्जन गर्दै आएका कृषक तथा सहकारी संस्थाहरु मर्कामा परेका छन । कोरोनाका कारण लामो समय सम्म बजार बन्द रहनु र समयमा किसानको घरमा दुध लिन डिडिसीको ट्यांकर नजाँदा दुध बिक्रिमा निकै समस्या झेलेका डुडुवा ३ का कृषक रामसोहावन यादवले बिक्रि गरेको दुधको भुक्तानी नपाउँदा निकै समस्या भएको बताए ।