कोरोना बिमाको भुक्तानी नदिने २० इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश
नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कोरोना बिमाको भुक्तानी नदिने २० इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश दिएको छ ।
न्यायाधीश धु्रवराज नन्दको एकल इजलासले मंगलबार राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज शाखासमेत सबै इन्स्योरेन्स कम्पनीलाई परमादेशको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र सरकारी वकिल कार्यालय नेपालगन्जमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सोमबार नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, अधिवक्ताहरु विकास आचार्य, लोकबहादुर शाह, बलबहादुर चन्द, वसन्त गौतम र विश्वजित तिवारीले रिट बिमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीसहित नेपालगन्जमा शाखा भएका २० वटा बिमा कम्पनीलाई विपक्षी बनाएर परमादेशको रिट दायर गरेका थिए । रिटका पक्षबाट निवेदकसमेत रहेका अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, विकास आचार्य, वसन्त गौतम र बलबहादुर चन्दले बहस गरेका थिए ।