नेपालगन्ज विमानस्थलमा विमानमा फेरि बँदेल ठोक्कियो, सीता एयरको विमानमा सामान्य क्षति

नेपालगन्ज : सीता एयरको विमान नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार मंगलबार बिहान नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा ६ः३० बजेको समयमा बँदेलका ३ वटा पाठा विमानमा ठोक्किएका हुन् । बँदेलका तीन वटै बच्चा मरेका थिए । विमान चालक दलका ३ सदस्य र १४ यात्री भने सबै सकुसल रहेको सीता एयरका नेपालगन्ज म्यानेजर सन्दीप भण्डारीले जानकारी दिए । जहाजको अगाडिको टायरभन्दा माथिल्लो भाग (नोज ब्हील)मा क्षति भएको छ । बँदेल ठोक्किएपछि मंगलबारका लागि हुम्लाको उडान रद्द गरिएको छ । दुर्घटनाका कारण नेपालगन्ज विमानस्थलको उडान झन्डै डेढ घण्टा प्रभावित भएको प्रहरीले जनाएको छ । यसअघि पनि नेपालगन्ज विमानस्थलमा बँदेल ठोक्किएको थियो । केही दिन अघि दुम्सी पनि ठोक्किएको थियो । एसपी अधिकारीले भने, ‘ठूलो झाडी छ । त्यहीबाट आउँछन् । अझ झाडी सफा गर्नुपर्छ ।’