डुडुवा टी-२० क्रिकेटमा परमहंशको पहिलो सेञ्चुरी

रमेशकुमार यादव । छग्रहवा
बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित ‘डुडुवा गाउँपालिका टी–२० क्रिकेट प्रतियोगिता–२०७८’ मा परमहंश राज सिंहले पहिलो सेञ्चुरीको रेकर्ड बनाएका छन् ।
प्रतियोगिताको शनिबार बिहान सम्पन्न खेलमा डुडुवा–१ सँगको प्रतिष्पर्धामा डुडुवा–६ का खेलाडी परमहंशले प्रतियोगिताकै पहिलो सेञ्चुरीको रेकर्ड बनाइएका हुन् । उनले ४९ बलमा ७ छक्का र १५ चौका गरी एक सय १२ रन जोडेका थियो । टस जितेर ब्याटिङ रोजेको वडा नं. ६ ले वडा नं. १ लाई एक सय ७८ रनको लक्ष्य दिएको थियो । वडा नं. १ ले १५ ओभरमा ८३ रन मात्र जोडेर ९४ रनले पराजित भएको थियो । क्रिकेट रेफ्री दीपेन्द्र प्रताप सिंह डुडुवा गाउँपालिकामा लगातार २ वर्ष आयोजना भएको क्रिकेट प्रतियोगितामा परमहंशको पहिलो सेञ्चुरी रेकर्डबाट निकै उत्साही भएका छन् । उनी भन्छन्, ‘परमहंशमा राम्रो सम्भावना छ । राम्रो प्रशिक्षण पाएमा भविष्यमा राष्ट्रिय प्रतियोगिता खेल्न सक्ने सम्भावना छ ।’

प्रतियोगिताको दोस्रो खेलमा डुडुवा–२ ले डुडुवा–५ लाई ७८ रनको अन्तरले पराजित गरेको थियो । डुडुवा–२ ले एक सय ५८ र डुडुवा–५ ले ७९ रन मात्र जोडेको थियो । डुडुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा गाउँपालिकाका ६ वडामध्ये ५ वडाको टिमको सहभागगिता रहेको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका स्रोत व्यक्ति रामएकबाल मण्डलले जानकारी दिए । प्रतियोगिता २१ मंसिरमा समापन हुनेछ ।