रोमाञ्चक दैलेख यात्रा

दैलेखमा धेरै ऐतिहासिक र पौराणिक धार्मिक पर्यटकीय क्षेत्र छन् । शीरस्थान र नाभिस्थानको ज्वालाकै कारण पनि जिल्ला विश्वभर प्रख्यात छ
लेखक : पूजा वर्मा

पूजा वर्मा

‘दैलेखको शीरस्थान र नाभिस्थानमा आफै अखण्ड दियो बल्छ’, बाबाबाट पहिलो पटक यो कुरा सुनेकी थिए । तिहारमा बालेको दियो त तेल सकिँदा निभ्छ । त्यहाँ त बाह्रैमास निरन्तर बलिरहन्छ रे । कस्तो अचम्म ! जिज्ञासा मेटाउन मैले यूट्युब हेरें । बाबाले भनेको सत्य रहेछ । ‘आखिर कसरी आफै बत्ति बल्छ होला ?’ मेरो दिमाखमा एउटा प्रश्न सधैं घुमिरह्यो । त्यो ठाउँमै पुगेर हेर्न पाए कति जाती हुन्थ्यो होला । पक्कै मेरो जिज्ञासा पनि मटिन्थ्यो हो । म त्यही दिनको प्रतिक्षामा थिए । मंसिर तेस्रो साता संयोगवश कार्यालय प्रयोजनका लागि मैले दैलेखको त्यो ऐतिहासिक र पुरातात्तिव क्षेत्रमा जाने अवसर पाए ।
दैलेख जिल्लामा धेरै ऐतिहासिक र पौराणिक धार्मिक पर्यटकीय क्षेत्र छन् । यही ज्वालाकै कारण पनि जिल्ला विश्वभर प्रख्यात छ । जहाँ अनवरत रुपमा ज्वाला बलि रहन्छन् । पेट्रोलियम पदार्थको खानी भएको ठाँउ दल्लु र नारायण नगरपालिकाको सिमाना हो । शीरस्थान, र नाभिस्थानमा ज्वाला बलिरहन्छ । जहाँ स्थानीयहरुले नै मन्दिर स्थापना गरेका छन् । भ्रमणको क्रममा ठूलो स्वामीको बोट छेउमा साना खोला बगिरहेको शान्तिपूर्ण वातावरण एकदमै प्राकृतिक गुणहरु महसुस भएको थियो । मध्य पहाडी राजमार्गले पर्यटकीय स्थलहरुसम्म टाढा भए पनि दैलेख पुग्न बजारबाट सवारीसाधनमा यात्रा गर्न सहज भयो । पुर्खौली इतिहास बोकेका ती मन्दिरहरुले दैलेखको बसाइँमा अविस्मरणीय भएको छ ।
पौराणिक किम्बदन्ती अनुसार दैलेखमा सतिदेवीको नाभी, शीर र छाती पतन भएका स्थान शक्तिपीठका रुपमा नाभीस्थान, शीरस्थान र कोटिलाका नामले परिचित छन् । जुन कर्णालीको मुटुमा रहेको दैलेख जुन ठाँउ जिल्लाका दुईवटा पालिका नारायण र दुल्लुको सिमाना छुट्याएको खोलाको वारी र पारी पर्छन् ।
दैलेख जिल्ला ग्रामीण भएता पनि यो प्राकृतिक रुपका अत्यन्तै सुन्दर छ । यो जिल्ला प्रवेश गर्दा प्रदेश राजधानी सुर्खेत हुदै, दैलेखकै आकर्षक गुराँसेबाट सुरु हुन्छ । सल्ला घारी, खोला, स साना झरना, बुटयानले अझै मनमोहक दृश्य देखिन्छन । दैलेख जाँदा सुर्खेतबाट मिनि बस र फोर्स गाडीहरुमा रमाइलो यात्रा गर्न पाइन्छ । यहाँ धार्मिक हिसाबले एकदमै सुन्दर चर्चित मठ मन्दिरहरु रहेका छन् । नारायण मन्दिर, गणेश मन्दिर, बेलासपुर मन्दिर, एतिहासिक बाइसदेवल जस्ता पर्यटकीय स्थल छन् । नाभीस्थान र शीरस्थान अरु भन्दा विशेष स्थल हुन् । दैलेख जिल्ला अत्यन्तै सुन्दर छ । स–साना पसल, जोडिएका ढुङ्गाका आकर्षक पुर्खौली घर आकर्षक लाग्छन् ।
कामको सिलसिलामा भ्रमण गर्न गएको बेला दैलेखको प्राकृतिक सुन्दर दृश्यसँगैको बिहानी एकदमै मनमोहक थियो । म यहाँबाट पुग्ने दिन राति भइसकेको थियो । सूर्योदय पहाडको बीचबाट फाँडिदा सल्लाको बोटले निकै राम्रो बिहानीको महसुुस गरायो । बिहान र साँझ दैलेखको साना बजार नजिक नजिकै भएका चिया पसल, रातिको खाना साथीभाइ दिनभरी कामको समीक्षा गरी साझँ झनै रमाइलो हुन्थ्यो ।
बिहान सकेसम्म विभिन्न जिल्लाबाट जानु भएका साथीहरु भइ नजिकको पर्यटकीय स्थल, मन्दिर दर्शन गरेका थियौ । दैलेख बजारको उकालो चढेर गएपछि सल्लाघारीको बीचमा रहेको बेलासपुर मन्दिर गएका थियौ । नजिकै भनिएको ठाउँ पैदल हिड्ँदा र उकालो उक्लिँदा तराईवासी हामीलाई थोरै गाह्रो भए पनि त्यहाँको रमाइलो, मनमोहक वातावरणले थकान भएकै महसुस भएन । अर्को बिहान चिसो पानीले नुहाएर २२ देवलमा गइ त्यहाँको पौराणिक स्थल अवलोकन गरियो । त्यहाँ पाण्डप कालमा युद्ध गर्नका लागि हतियार लुकाइन्थ्यो । ती २२ देवल एक रातभरीमा बनाइएको थियो भन्ने त्यहाँका स्थानीय पूर्खााहरुबाट जानकारी प्राप्त भएको थियो । अचम्म त के भने अहिलेको आधुनिक युगमा आधुनिक उपकरण प्रयोग गर्दा पनि एकै रातमा सम्भव नभएको कार्य पौराणिक कालमा पाण्डपहरुले एकैरातमा २२ देवल ती पनि सबै ढुङ्गाहरु मात्रै प्रयोग गरी बनाइएको रहेछ । देवलहरुमा प्रयोग भएका ढुङ्गाहरुको आकार हेर्ने हो भने हालका मानव जातिले विना उपकरण हल्लाउन पनि नसकिने खालको छ ।
नेपालका ७ वटा प्रदेशहरु मध्यको पर्यटकीय सम्भावना बोकेको प्रदेश कर्णाली हो । प्रदेशका ११ जिल्लामा जहाँ उच्च हिमालीदेखि लिएर मध्य पहाडी फाटँहरु मनमोहक छन् । विश्वकै उच्च ठाउँमा रहेका तालहरु मध्ये रारा तालदेखि लिएर पौराणीक देवल, मठ मन्दिरहरु यहाँ छन् । दैलेखको ग्रामीण क्षेत्रामा पर्यटकहरु धेरै भन्दा धेरै भिञ्याउन होम स्टेहरु सञ्चालनमा छन् । ती मध्येको एक लाफा सामुदायिक होमस्टे सदरमुकामको नजिकै करिब १० किलोमिटरको दूरीमा रहेको छ । स्थानीयहरुका अनुसार दैलेखको अन्य गाउँहरुमा पनि यस्ता होम स्टेहरु सञ्चालनमा छन् भने कतै खुल्ने योजनामा छन् । दैलेखको प्रायः ठाउँहरुमा सडक सुविधा पु¥याउने कोसिस गरिएको देखिन्छ तर सदरमुकाम जोड्ने सडक बाहेक अरु सबै तिर कच्ची बाटोको मात्रै सुविधा छ । त्यसैले आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बढाएर समग्र दैलेखको विकासमा टेवा पु¥याउने हो भने बाटो सुधार र सुविधासहितका होटेल र होम स्टेहरु थप गर्न जरुरी देखिन्छ । मौका मिले दैलेख फेरि घुम्नै पर्छ । गुराँसेको मिठो चिया र सेलरोटी फेरि खाउँला भन्दै आठ दिनको बसाइँ अवस्मरणीय रह्यो ।