आफ्नै कार्यालय अघि रत्नराजमार्गमा २ तले घर बन्दा सडक विभागका कर्मचारीले देखेनन्

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदोमा रत्नराजमार्गको पश्चिम किनारमा सडक विभागको सडक डिभिजन नेपालगन्जको कार्यालय छ । सडक डिभिजनको ठीक पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खालसँगै जोडिएको रत्नराजमार्गमा केही दिनदेखि २ तले भवन बनिरहेको छ । छेउमा अरु ब्लकका घर पनि नयाँ बनिरहेका छन् । तर सडक डिभिजनका कर्मचारीले सडकमै यति ठूलो संरचना बन्दा पनि देखेका छैनन् ।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर होमबहादुर एसीले मेरो खुसीसँग मोबाइल सम्पर्कमा दुई दिन अघि नै घर नबनाउन आफूले निर्देशन दिइसकेको बताए तर उनको निर्देशन कार्यान्वयन भएको छैन । दुई दिन अघि त दुई तले फलामे पिलर गाडिएका छन् । बुधबार र बिहीबार भित्ताको गारो लगाउने काम अघि बढिसकेको छ । बिहीबार मध्यान्न मेरो खुसीको टिम पुग्दा २ तले भवनमा २ जना मित्री गारो लगाउँदै थिए । २ जना मजदुरले काम गरिरहेका थिए । सडक कार्यालय प्रमुख एसी भन्छन्, ‘सडक नै हो । कसैले कुनै संरचना बनाउन मिल्दैन । हामीले भत्काउन भनिसकेका छौं ।’

त्यसो त नयाँ भवन बनाइरहेको क्षेत्रमा लस्करै आधा दर्जन घर छन् । एकाध त पक्की घर नै छन् । चिया पसलदेखि ग्रील उद्योग सडकमै बनेको घरमा सञ्चालन भइरकेको छ । स्थानीयले प्रश्न सोधिरहेका छन्, ‘रत्नराजमार्गमा त्यो पनि आफ्नै कार्यालय अगाडि पक्की संरचना बनिसक्दा पनि के सडक विभागका कर्मचारीले नदेखेका होलान् ?’