जीपमा १६ किलो चरेससहित २ जना पक्राउ

टीकापुर : कैलालीको बेल्चापलानमा १६ किलो चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चुरे गाउँपालिका ५ बेल्चापलान भन्ने स्थानमा चेकजाँच गर्दा सिटमुनि लुकाइराखेको अवस्थामा १६ किलो चरेस फेला परेको हो । प्रहरीले चालक बझाङको बुङ्गल नगरपालिका ११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेससहित नियन्त्रणमा लिएको हो । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।