कपास खेती विस्तारका लागि कृषकहरुसंग छलफल

बर्दियाको कुम्भरमा कपास खेती विस्तारका लागि समिति र कृषकहरुविच छलफल हुँदै तस्बिर : लक्ष्मण ढुंगाना

नेपालगन्ज : कपास विकास समिति खजुराले समिति अन्तगर्तको जग्गामा कपास खेती विस्तारका लागि छलफल गरेको छ । समिति अन्तगर्त बर्दियाको बढैयाताल गाउँपालिका ९ कुम्भरमा रहेको सेयर सदस्यहरुले भोगचलन गर्दै आएको जग्गामा कपास खेती विस्तारका लागि मंगलबार छलफल गरेको हो ।
छलफलकाक्रममा कपास विकास समितिको जग्गामा बस्दै आएका सेयर सदस्य किसानहरुले समितिले आफुहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन । उनीहरुले आफुहरुले द्धन्दकालीन अवस्था देखि समितिको जग्गा संरक्षण गर्दै आएकोले उक्त जग्गा मध्य केही हिस्सा न्यायीक हीसावले आफुहरुलाई दिनुपर्ने बताएका हुन । छलफलमा आफनो भनाई राख्दै सेवानगर टोल समितिका अध्यक्ष बुद्धिराम थारु नेपाल सरकारको मापदण्ड अनुसार जग्गाको व्यवथापन सरकारले गरोस भन्ने आफुहरुको माग भएको बताए ।
कार्यक्रममा कपास विकास समितिका कार्यकारी निर्देशक बुद्धबहादुर थापा (घर्ति) ले कपासको उत्पादनलाई बृद्धि गर्न राज्यले उपलब्ध गराएको जमिनमा कपास खेती गर्नुपछ भन्ने उद्देश्यले समितिले छलफल थालेको बताए । यो जमिनमा पुनः कपास उत्पादन गर्नका लागि सेयर किसानहरुको राय लिन आएको उनको भनाई छ ।
बढैयाताल गाउँपालिका ९ र बारबर्दिया १० अन्तगर्त पर्ने कुम्भर क्षेत्रमा समितिको ५५० हेक्टर जमिन छ । जसमध्य १ सय २० हेक्टरमा मुक्तकमैया बसेका छन भने बाँकी जमिनमा विगतमा कपास खेती गर्दै आएका सेयर किसान बस्दै आएका छन ।