भिजन आँखा अस्पतालमा आँखाको शल्यक्रियाका लागि देशकै पहिलो मोडुलर अप्रेशन थियटर निर्माण

नेपालगन्जको भिजन आँखा अस्पतालले निर्माण गरेको मोडुलर अप्रेशन थियटर । फोटो : मेरो खुसी

नेपालगन्ज : आँखाको अप्रेशन गर्न देशमै पहिलो पटक बाँकेमा मोडुलर अप्रेशन थियटर निर्माण गरिएको छ ।
नेपालगन्जको भिजन आँखा अस्पतालले आँखा अप्रेशनका लागि मोडुलर अप्रेशन थियटर निर्माण गरेको छ । आगामी आइतबारदेखि मोडुलर अप्रेशन थियटरबाट अप्रेशन सुरु हुनेछ ।
अस्पतालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर फेको तथा जलविन्दु विशेषज्ञ डा.प्रचण्ड गौतमले भने, ‘नयाँ खुलेका जनरल अस्पतालमा मोडुलर अप्रेशन थियटर निर्माण गरिएको छ । आँखा अस्पतालमा भने हामीले देशमै पहिलो पटक मोडुलर अप्रेशन थियटर निर्माण गरेका हौं ।’ अस्पतालले झन्डै ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमि मोडुलर गरी २ वटा अप्रेशन थियटर निर्माण गरेको छ । विगतको अप्रेशन थियटरमा दैनिक २० देखि २५ वटा आँखाको अप्रेशन गर्ने क्षमता रहेकोमा अब दुई वटा मोडुलर अप्रेशन थियटरबाट दैनिक एक सय जनाको अप्रेशन गर्न सक्ने गरी क्षमता विस्तार गरिएको छ । मोडुलर अप्रेशन थियटर निर्माण महंगो प्रविधि भएकाले सामान्य अप्रेशन थियटरबाट काम भइरहेको बताउँदै डा.गौतमले यो प्रविधिबाट अस्पतालमा अप्रेशनपछि हुने संक्रमणबाट जोगाउन सकिने डा.गौतमले बताए ।
२७ माघ २०७५ मा १५ शैयाको भिजन आँखा अस्पताल नेपालगन्जमा खुलेको हो । अस्पतालमा जनरल वार्डका बिरामीलाई शैया निःशुल्क छ । अस्पतालले ३ वटा स्पेशल क्याबिन बनाइरहेको छ । ‘आँखा सम्बन्धी कुनै पनि समस्या नेपालगन्जमै उपचार हुने गरी हामी काम गरिरहेका छौं । अबको एक वर्षभित्र आँखा उपचारको लागि काठमाडौं वा भारत जानु पर्ने बाध्यताको अन्त्य हुनेछ’, डा.गौतमले दाबी गरे । अस्पतालमा अहिले दैनिक आठदेखि १० वटा आँखाका शल्यक्रिया भइरहेका छन् । जहाँ बिना इन्जेक्सन आँखाको अप्रेशन पनि हुुन्छ ।