विद्यार्थीलाई लगाइयो खोप, भीँडभाडले जोखिम बढेको भन्दै अभिभावकको चिन्ता

नेपालगन्ज : बाँकेमा विद्यार्थीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ वटै पालिकाका १२ देखि १७ उमेर समूहका बालबालिकालाई मंगलबारदेखि मोडर्ना खोप लगाउन सुरु गरेको हो । विद्याथीलाई खोप कार्यक्रम अन्तगर्त जिल्लाका कूल ४०१ वटा विद्यालयका करिब ७० हजार बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । नजिकैका पायक पर्ने २६९ विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सकिने प्रबन्ध मिलाइएको उनले बताए ।


कोरोना संक्रमणबाट जोगाउन विद्यालयमै गएर खोप लगाउन थालिए पनि केही विद्यालयमा देखिएको भीँडभाड र फितलो व्यवस्थापनका कारण कोरोनाको जोखिम बढ्ने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । नेपालगन्ज १९ की गीता केसीले संक्रमणबाट जोगाउन बालबालिकालाई लामो समयसम्म घरमै सुरक्षित राखे पनि खोप केन्द्रमा भएको भीँडभाडले जोखिम बढेको बताइन् । ‘यो भीँडभाडलाई दूरी कायम गरेर व्यवस्थापन गरिएन भने यहीबाट कोरोना फैलिनसक्छ’ भनले भनिन् ।