जलकुम्भीले ढाकियो बढैयातालको सुन्दरता

जलकुम्भीले ढाकेको बर्दियाको बढैयाताल । फोटो सौजन्य : शम्भुप्रसाद थारु

शंकरप्रसाद खनाल । बढैयाताल (बर्दिया)

जैविक विविधताले भरिपूर्ण देशकै ठूलो सीमसार क्षेत्र बर्दियाको बढैयाताल जलकुम्भीले कुरुप बनेको छ । विगतमा बढैयातालमा थरिथरिका सुन्दर कमलका फूलले ताल ढकमक्कै ढाकिएको हुन्थ्यो । साइबेरिया, चीन र भारत लगायतका देशबाट आएका सयौं प्रजातिका पाहुना र लोपोन्मुख चरा ताल क्षेत्रमा प्रसस्तै देख्न सकिन्थ्यो ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–५ बढैया गाउँमा पर्ने बढैयातालले उचित संरक्षण पाएको छैन । ‘जलकुम्भीले यहाँको मुख्य विशेषता तालभरी रहेको कमलको फूल पूरै नष्ट गरिदिएको छ । अहिले त कमलको पात र जरा पनि भेटिदैन’, बढैयातालको किनारमै निजी तालमा माछापालन गरिरहेका बढैयाताल–५ का मिश्रीलाल चौधरीले अनुभव सुनाए, ‘स्थानीय सरकारले माछाको ठेक्का नदिएको पनि चार वर्ष भयो । पहिले माछा मार्ने क्रममा जलकुम्भी सबै सफा हुन्थ्यो । जनप्रतिनिधिले माछा पाल्न ताल ठेक्का दिएनन् । हरेक वर्ष जलकुम्भीले ताल भरिँदैछ । सफा गर्न पनि कसैको ध्यान पुगेको छैन ।’
बढैयातालमा बाहै महिना पानी जमिरहन्छ । पानी हिउँदमा पनि सुक्दैन । देश संघीय संरचनामा जानु अघि जिल्ला विकास समिति बर्दियाले बढैयातालमा वार्षिक २५ लाख रुपैयाँ माछा ठेक्काबाट आम्दानी गथ्र्यो । दर्जनौं प्रजातिका स्वादिला माछाले नेपालगन्जलगायतका बजार क्षेत्रमा ‘बढैयाताका माछाको छुट्टै पहिचान’ बनाएको थियो । हुनत अहिले पनि नेपालगन्जमा बिक्री हुने माछालाई ‘बढैयातालको ताजा माछा’ भनेरै नै बेचिन्छ तर बढैयाताल गाउँपालिका बनेयता बढैयातालमा माछा पाल्न र ठेक्का दिन छोडिएको छ । बढैयातालको माछाको पूर्ति भने बढैयातालकै आसपासका क्षेत्रमा स्थानीयका दर्जनौं निजी पोखरीको माछाले गरेका छन् । यी तालका रोहु, नैनी, ग्रासकार्प, कमन कार्प, बिगहेड कार्पलगायतका जिउँदो माछा नै बाँके र बर्दियाका बजारमा पुग्छ । त्यसैले माछामा बढैयातालको साख अझै कायमै छ ।

नेपालगन्जको सीमावर्ती क्षेत्रमा भारतीय माछालाई पनि बढैयातालकै माछा भनेर बिक्री गरिन्छ । पश्चिममा एकै ठाउँमा यति धेरै माछा उत्पादन गर्ने बढैयाताललाई माछा ठेक्कामा दिएकै कारण तालको जग्गा अतिक्रमण भएको र ताल कूूरुप बनेको भन्ने निष्कर्ष निकालेर जनप्रतिनिधिले ठेक्का रोकेका हुन् । राम्रो उद्देश्यले तालको माछाको ठेक्का त रोकियो । तालसम्म पुग्ने कालोपत्रे सडक बाहेक ताल संरक्षण र सौन्दर्यकरणको काम अझै अधुरै छ । नेपाल सरकारको देशभरका १०० पर्यटकीय गन्तव्यमा बढैयाताललाई राखे पनि पर्यटकीय गतिविधि बढ्नुको साटो घट्दो छ । अहिले त बढैयातालको मिठो माछा खाने लालसामा त्यहाँका निजी पोखरीका माछा किन्न पुग्ने ग्राहकहरु मात्र बढेका छन् ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने अब चाँडै नै जलकुम्भी सफा गरेर ताल संरक्षित गरिने बताउँछन् । उनले भने, ‘हामी प्रोजेक्ट बनाएरै जलकुम्भी हटाउने र ताल संरक्षण गर्ने तयारी गरिरहेका छौं ।’ जलकुम्भी हटाउन लुम्बिनी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको न्यौपानेले प्रष्ट पारे । साबिक सोरहवा गाविसका अध्यक्ष समेत रहेका माछा व्यवसायी मीनराज पंगेनी बढैयातालको जलकुम्भी हानीकारक भएको बताउँछन् । ‘यो तालको सुन्दरको बाधक हो । तालमा पालिएका माछाका लागि पनि जलकुम्भी दुस्मन नै भएको छ । जलकुम्भीका कारण माछाले सजिलै अक्सिजन लिन पाउँदैन’, कल्पवृक्ष कृषि सहकारीका अध्यक्षसमेत रहेको पंगेनीले चिन्ता व्यक्त गरे, ‘जतिसक्दो चाँडो बढैयातालबाट जलकुम्भी निकाल्नुपर्छ । समयमै जलकुम्भी ननिकाले बढैयातालको भविष्य नै खतरा छ ।’