कोरोनाबाट नरैनापुरका छैटौं व्यक्तिको मृत्यु (बाँकेका ८ पालिकामा कहाँ कतिको मृत्यु ?)

नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेको नरैनापुर गाउँपालिकाका छैटौं व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार शनिबार नरैनापुर–२ का ५० वर्षका पुरुषको कोरोनाबाट निधन भएको हो । १० माघमा कोरोना संक्रमण पुष्टि भइ भेरी अस्पतालमा उपचार गराइरहेका उनको बिहान ८ः३० बजे निधन भएको हो । उनले कोरोनाबिरुद्धको खोप लगाएका थिएनन् । नरैनापुरमा कोरोनाबाट मृत्यु भएका उनी छैटौं व्यक्ति हुन् ।
बाँके जिल्लामै कोरोनाबाट पहिलो मृत्यु ४ जेठ ०७७ मा नरैनापुर–५ नयाँ वस्तीका २५ वर्षका युवाको भएको थियो । गाउँपालिकामा दोस्रो व्यक्तिको ३ असोज ०७७ मा ५९ वर्षका पुरुषको भएको थियो । तेस्रो मृत्यु १ जेठ ०७८ मा नरैनापुर–५ की ५२ वर्षीया महिलाको भएको थियो । चौथो मृत्यु २३ वैशाख ०७८ मा नरैनापुर–१ का ५६ वर्षका पुरुषको र पाँचौं मृत्यु ३० वैशाख ०७८ मा नरैनापुर–५ का ५२ वर्षका पुरुषको भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
जिल्लामा कोरोनाबाट कम मृत्यु हुनेमा नरैनापुर दोस्रो स्थानीय तह हो । डुडुवा गाउँपालिकामा सबैभन्दा कम ४ जनाको मात्र मृत्यु भएको छ । सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १५६ जनाको मृत्यु भएको छ । दोस्रो बढी मृत्यु कोहलपुर नगरपालिकामा ८१ जनाको छ । खजुरा गाउँपालिकामा ४४, बैजनाथ गाउँपालिकामा ३५, राप्तीसोनारी गाउँपालिकामा १४ र जानकीमा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४९ पुगेको छ ।