बाँकेका ५० पत्रकारको परीक्षण गर्दा अधिकांशमा आँखाको समस्या

भिजन आँखा अस्पतालका वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतम आँखा परीक्षण गर्दै । फोटो : कुमार श्रेष्ठको फेसबुकबाट

नेपालगन्ज : बाँकेका ५० पत्रकारको आँखा परीक्षण गर्दा अधिकांशमा आँखाको समस्या पाइएको छ ।
प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसको अवसरमा भिजन आँखा अस्पताल नेपालगन्जको सहयोग र समन्वयमा शनिबार नेपालगन्जमा आयोजना गरेको निःशुल्क आँखा परीक्षणमा यस्तो स्वास्थ्य समस्या पत्ता लागेको हो । भिजन आँखा अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार दुई जना पत्रकारमा मोतिया विन्दू र एक जनालाई जलविन्दूको समस्या देखिएको छ । २७ जनामा आँखामा सुख्खापन, १६ जनालाई टाढा कम देख्ने दृष्टि दोष, १२ जनालाई नजिक कम देख्ने समस्या पाइएको छ । आँखामा एलर्जी, परेलामा सुजन, आँखामा ब्लड प्रेसर, मधुमेह रोग भएका १० जना पत्रकारहरुमा दृष्टिपर्दाको स्थिति भएको तर सामान्य अवस्थामा रहेको डा. गौतमले बताए । ‘मोतिया विन्दुको त अप्रेशन गरेर निको हुन्छ । जलविन्दुको समस्या हुुँदा आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ’, आँखा परीक्षणपछि डा. गौतमले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा भने, ‘लगातार कम्युटर र मोबाइलको स्क्रिनमा हेर्ने भएकाले अधिकांश पत्रकारमा कुनै न कुनै आँखा स्वास्थ्यमा समस्या भेटिएको छ ।’
अस्पतालका प्रवन्ध निर्देशक बावुतरुण गौतमले शल्यक्रिया गर्नुपर्ने पत्रकारहरुका लागि ५० प्रतिशत, चस्मामा ३३ प्रतिशत छुट दिइएको बताए । निःशुल्क आँखा परीक्षण कार्यक्रम पहिले प्रेस चौतारी बाँकेले संस्थाको २४औं स्थापना दिवसको अवसरमा बिहान शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, चौतारीका प्रदेश र केन्द्रीय कमिटीका नेताले शुभकामना व्यक्त गरेका थिए ।