हात्तीपाइलेको आमऔषधी सेवन कार्यक्रमको प्रभावकारिता बुझ्न नेपालगन्जमा सर्भे गरिँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगको आमऔषधी सेवन कार्यक्रमको प्रभावकारिताबारे सर्भे गर्न लागिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ४ सल्यानीबागलाई केन्द्र बनाएर राष्टिय हात्तीपाइले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे हुने भएको हो । ५ वर्षभन्दा माथिका ब्यक्तिमा हात्तीपाइले रोग भए नभएको एकिन गर्न नजिकैका ३ स्थानमा गरिने सर्भेक्षणमा तीन सयजनाको रक्त नमूना संकलन गरिने भएको छ । बाँकेमा ११ औं पटक आमऔषधी कार्यक्रम सञ्चालन भए पनि कार्यक्रम सफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्टोल अधिकृत कुमार पोखरेलसहितको टोलीले सोमबार नेपालगन्ज उपमहानगरपालिकामा अन्तरक्रिया गरेको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।