सरस्वती पूजाको दिन शैक्षिक सामग्री सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ८ अरुणाफाँटा सूर्यपुरको राष्ट्रिय आधारभूत विद्यालयका पूर्वअध्यक्ष स्वर्गीय गोरेबहादुर ठकुल्लाको सम्झनामा परिवारले सरस्वती पूजाको दिन शैक्षिक सामग्री सहयोग गरेको छ ।
ठकुल्लाकी पत्नी नन्दादेवी ठकुल्ला, छोरी देवसरा ऐरलगायतले ६६ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित झोला सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जगतबहादुर साउँदले जानकारी दिए । ठकुल्ला परिवारले सरस्वती पूजाका लागि मन्दिर रङ्गरोगन र प्रसादको व्यवस्था गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व.ठकुल्लाकी पत्नी नन्दादेवी ठकुल्ला प्रमुख अतिति र छोरी देवसरा एेरले स्वागत मन्तव्य राखेकी थिइन् । टीकापुर ८ का वडाअध्यक्ष दीर्धबहादुर ठकुल्ला, साबिक धनसिहपुर गाविसका पूर्व अध्यक्ष जंगबहादुर साउँद, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउँद, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर साउँद लगायतले स्व. अध्यक्ष ठकुल्लाले बिद्यालयमा गरेका कामको चर्चा गरेका थिए । साविक धनसिहपुर गाविस १ फाँटामा रहँदा २०४० सालको बाढीले विस्थापित गरेको अवस्थामा स्वर्गीय ठकुल्लाले आफ्नै लगानीमा साविकको धनसिहपुर गाविस २ बनगाउँमा विद्यालय पुनःस्थापना गर्नमा योगदान दिएको वक्ताहरुले चर्चा गरेका थिए ।