गुणस्तर नहुँदा २ महिनामा १६ सय क्वीन्टल धान मात्र खरिद !

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा खरिद गर्ने धानको गुणस्तर हेरिँदैै

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जले गुणस्तरीय धान नपाउँदा २ महिनाको अवधिमा १६ सय क्वीन्टल धान मात्र खरिद गरेको छ ।
कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टका अनुसार यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य छ । मंगलबारसम्म एक हजार छ सय ७ क्वीन्टल धान मात्र खरिद गरिएको छ । जसमा मोटा धान ८२८.४० क्वीन्टल र मध्यम धान ७७९.१५ क्वीन्टल खरिद भएको छ । कम्पनीले २६ मंसिरदेखि धान किन्न थालेको हो ।
‘किसान धानको नमूना ल्याएर आउँछन् । राम्रो धान भए मात्र खरिद हुन्छ’, विष्टले प्रष्ट पारे, ‘कृषि ज्ञान केन्द्रले जिल्लाका ६०१ किसानलाई प्रति किसान बढीमा ३० क्वीन्टल धान बेच्ने सिफारिस गरेको थियो । त्यसैका आधारमा अब बाँकी रहेका ११६ किसान मात्र धान बेच्न आउन बाँकी छन् । दैनिक रुपमा फाट्ट फुट्ट रुपमा मात्र किसान धान बेच्न आउँछन् । कुनै दिन त कोही पनि आउँदैनन् । अब सम्भवतः सिफारिस पाएका किसान आएपछि अरु धान खरिद हुँदैन होला ।’