सञ्चार विज्ञ पन्त मिडिया फ्रिडम कोलिसन नेटवर्कको सह-अध्यक्षमा निर्वाचित
नेपालगन्ज : मिडिया फ्रिडम कोलिसन-कन्सल्टेटिभ नेटवर्कको सहअध्यक्षमा नेपालबाट सञ्चार विज्ञ लक्ष्मणदत्त पन्त निर्वाचित भएका छन् ।
प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वका २२ देशका संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन-कन्सल्टेटिभ नेटवर्कको मंगलबार सम्पन्न निर्वाचनले मिडिया एक्सन नेपालका अध्यक्षसमेत रहेका पन्तलाई सहअध्यक्ष निर्वाचित गरेको हो ।
कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानी गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसनलाई सल्लाह दिन्छ।
सञ्चार विज्ञ पन्त नेटवर्कका दुई अन्य सह-अध्यक्षहरू आर्टिकल १९ का सिल्भिया चोकारो र आइफेक्सका रचेल केसँग विश्वव्यापी रूपमा मिडिया फ्रिडम कोलिसन कन्सल्टेटिभ नेटवर्कका गतिविधिहरू समन्वय गर्न र नेटवर्कको प्रतिनिधित्व गर्दै मिडिया स्वतन्त्रताको रक्षा गर्न आयोजना हुने विश्वव्यापी बैठकहरूमा सहभागी हुनेछन् । सहअध्यक्षमा निर्वाचित भएपछि पन्तले भने, ‘नयाँ अध्यक्ष हुनुमा ठूलो जिम्मेवारी आउँछ। नेपाललगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ । म नेटवर्कका अन्य सह(अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’
मिडिया फ्रिडम कोलिसन(कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट , कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स , पब्लिक मिडिया अलायन्स, इन्टरन्युज यूरोप, आइफेक्स , फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डि डब्लु अकाडमी लगायतका २२ ओटा सस्थाहरु रहेका छन्।गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन(कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो।