खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उपाध्यक्ष एकमाया विकद्वारा उम्मेदवारी घोषणा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उपाध्यक्ष एकमाया विकले उम्मेदवारी घोषणा गरेकी छन् । खजुरामा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो एमाले नेता हुन् ।
उपाध्यक्ष विकले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उम्मेदवारी घोषणा गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘अब बाँकेलाई लाल किल्ला बनाउन समानुपातिक समावेशीका आधारमा उम्मेदवारी दिन आजैबाट अभ्यास सुरु होस् । कोठे बैठक गरेर निर्णय नगरियोस् । यो सबैलाई हेक्का होस् । मेरो उम्मेदवारी खजुरा प्रमुख (अध्यक्ष÷मेयर) रहनेछ ।’ उनले पार्टीको विधान अधिवेशनबाट संशोधित विधानले स्थानीय तहमा ४० प्रतिशत महिला हुनुपर्ने र अब नेतृत्व पनि ३३ प्रतिशत बनाउनु पर्ने व्यवस्था गरेको स्मरण गराएकी छन् । ‘बाँकेका ८ वटा तहमा ८१ वटा वडामा कम्तीमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्नेछन्’, उनले लेखेकी छन् । फेसबुक स्टाटसको स्क्रिन सट अहिले खजुरा क्षेत्रमा भाइरल भए पनि उनले भने हटाएकी छन् । उनको पार्टी नेकपा एमालेले अहिलेसम्म खजुरा गाउँपालिकामा कसलाई अध्यक्ष बनाउने भन्नेबारे कुनै निर्णय सार्वजनिक गरेको छैन ।