८ बाघ मारिए, बाघले २८ जनाको ज्यान लियो

नेपालगन्ज : बाँके–बर्दिया कम्प्लेक्समा पाटे बाघ र मानव द्वन्द्व बढ्दो छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाका अनुसार बाँके र बर्दियामा सन् २०१९ यता पाटेबाघको आक्रमणबाट २८ जनाको ज्यान गएको छ । अर्थात हरेक वर्ष औसत ७ जनाको ज्यान बाघको आक्रमणबाट भइरहेको छ । उनी भन्छन्, ‘बाघ गाउँमा आएर मान्छेमाथि आक्रमण गरेको छैन । सबै घटना दिउँसो निकुञ्ज र जंगलभित्र भएको छ । समूहमा भन्दा पनि एक्लै व्यक्ति बाघको आक्रमणमा परेका छन् । अधिकांशमाथि आक्रमण निहुरिएको अवस्थामा भएको छ ।’
त्यसो त संरक्षित वन्यजन्तु पाटेबाघ मान्छेको आक्रमणमा परेर मरेका छन् । पश्चिम नेपालमा सन् २०१८ यता ८ वटा बाघ मारिएका छन् । बाँकेम ३ वटा बाघ मारिएका छन् । दाङको सीमा क्षेत्रमा एउटा, राप्तीसोनारीमा अर्को र तेस्रो कम्दी जैवीक मार्गमा मारिएको कडरियाले बताए । बर्दिया निकुञ्ज र शुक्लाफाँटामा पासो लगाएको अवस्थामा २ वटा बाघ मारिएका हुन् । बाघको छाला चीनसम्म लगेर बेच्ने गरिएको पाइएको छ ।