बाँकेमा पेस्तोलसहित दुई भारतीय डाँका पक्राउ

नेपालगन्ज : बाँके र बर्दियाका विभिन्न ठाउँमा चोरी लुटपाट गर्दै आएका दुई भारतीय डाँका पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट गर्दे आएका भारत बहराइच जिल्ला रुपैडिहा निबियाका २६ बर्षिय डब्लु मनिहार र बाबागन्ज बाबाकुटीका २८ बर्षिय निजामुद्दिन कवडिया पक्राउ परेका हुन । उनीहरुलाई ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले शनिबार जानकी–५ बुढियागाउँबाट १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले गत पुस २९ गते राती बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ सितलाबजारका पर्शुराम सार्कीको घरबाट पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए । त्यस्तै माघ १७ मा खजुरा डि गाउँका हरीप्रसाद बिकको घरबाट समेत सोही तरीका अपनाई ५० हजार रुपैयाँ नगद, ३.५ तोला सुन र २२० सि.सी.को पल्सर मोटरसाइकल लुटेका थिए । उनिहरु उपर थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।