सञ्चार मन्त्रालयको गुनासो सुन्ने अधिकारी भूर्तेलसँग गुनासो, ‘मेरो नं. तपार्ईको नाममा किन राखेको ? म हैैरान भएँ’

नेपालगन्ज : आज विश्व रेडियो दिवस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेभसाइटमा ९ साउन २०७४ सालयताको रेडियो दर्ता र नविकरणको अभिलेख छैन । ७४० रेडियोले मात्र इजाजत लिएको देखिन्छ । मेरो खुुसीले मन्त्रालयको वेभसाइटमा राखिएको गुनासो सुन्ने अधिकारी उपसचिव पंकज भूर्तेलको ९८४१४०९८४६ नम्बरमा फोन गर्दा उताबाट जवाफ आयो, ‘सरले सञ्चार मन्त्रालयको भूर्तेलजीलाई खोज्नु भयो होला ? भूर्तेलजीले मेरो नम्बर वेभसाइटमा राखिदिनुभएछ, । सधैं मलाई फोन आएर हैरान भएको छ । रमेश गौतमले १५ वर्षदेखि आफूले चलाइरहेको नम्बर मन्त्रालयको वेभसाइटमा राखेर दुःख दिएको गुनासो गरे, ‘भूर्तेलजीको नम्बर पाउनु भयो भने मलाई पठादिनुहोला है । म पनि उहाँलाई भन्छु ।’
त्यसपछि अर्का उपसचिव तथा सूचना अधिकारी/सहायक प्रवक्ता शिवप्रसाद त्रिपाठीलाई सम्पर्क गर्दा उनले आफू रक्षा मन्त्रालयमा रहेकाले सूचना तथा प्रसारण विभागमा सम्पर्क गर्न सुझाए । गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको मोबाइल नम्बर अपडेट नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव डा.बैकुण्ठ अर्यालको नाम भने अपडेट नै छ । यस विषयमा प्रवक्ता सहसचिव विनोदप्रकाश सिंहलाई वेभसाइटमै राखेको मोबाइल नम्बरमा पटक-पटक सम्पर्क गर्दा फोन नै लागेन । राज्यकै सूचना प्रणालीमा काम गर्ने मन्त्रालयका जिम्मेवार अधिकारीसँग कसरी सम्पर्क स्थापित गर्ने त ?