बाँकेमा कोरोना ओरालो लाग्दैगर्दा दातृनिकायद्वारा कोरोना नियन्त्रणको परियोजना सुरु

नेपालगन्ज : बाँकेमा कोरोना ओरालो लाग्दैगर्दा अन्तर्राष्ट्रिय संस्थाले कोरोना रोकथाम र नियन्त्रणका लागि परियोजना सुरु गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा हेल्थ डेस्कमा कोरोनाबिरुद्ध द्रूतप्रतिकार्यका लागि परियोजना सुरु भएको हो । किड्स कपिलवस्तुले युरोपेली आयोग डिजी इको दातृ निकायको सहयोगमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र सेभ द चिल्डेनको साझेदारीमा कोभिड १९ बिरुद्ध द्रुत प्रतिकार्य र पूर्ण तयारीको निम्ति आइसोलेसन केन्द्र र सीमा नाकाको सबलीकरणमार्फत प्रभावकारी घटना व्यवस्थापन परियोजना सञ्चालन गरेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुुख रामबहादुर चन्दले जानकारी दिए ।
आइसोलेसन र हेल्थ डेस्कका लागि नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको बालमन्दिर आइसोलेसन र जमुनाहा हेल्थ डेस्कका लागि स्थानीय आवश्यकता अनुसार स्वास्थ्य सामग्री सहयोग गर्ने र पूर्वाधार विकासमा सहयोग गर्न सकिने आइएमओकी परियोजना प्रबन्धक उमा नेपालले प्रतिबद्धता जनाइन् ।
परियोजनाले बिहीबार बाँकेका सरोकारवालाहरुसँग आइसोलेसन र हेल्थ डेस्कमा कस्तो सहयोग आवश्यक रहेको छ भन्नेबारे सुझाव संकलन गरेको थियो । कोरोनाको उच्च जोखिममा रहेको बेलामा सहयोगी खोजेर पाइँदैन जब कोरोना ओरालो लाग्दै गर्दा दातृ निकायहरु एक पछि अर्को आउने गरेको भन्दै सरोकारवालाले गुनासो पनि गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका उपप्रमुख जागेश्वर बस्नेत, उपमहानगरपालिकाको सरसफाइ शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन मानव नेपाली लगायतले कोरोना नियन्त्रण र रोकथामका लागि गर्नुपर्ने कामबारे सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला कोेभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओली, जमुनाहा हेल्थ डेस्क इन्चार्ज गीता शाही, बालमन्दिर आइसोलेसन इन्चार्ज प्रेम चौधरीले कोरोना नियन्त्रणका प्रयास, समस्या र समाधानका उपायबारे दातृ निकायलाई सहयोग गर्न आग्रह गरेका थिए ।
परियोजना सेप्टेम्बर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म प्रदेश १, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ वटा हेल्थ डेस्कमा सञ्चालन हुने किड्सका कार्यकारी निर्देशक कृष्ण द्वीवेदी जानकारी दिए । परियोजनाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा हेल्थ डेस्कका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।