बाँसगढीको ६ नं वडा बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

 बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको वडा नं ६ लाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनका लागि आवश्यक रहेका ५१ वटा सूचक पुरा गर्न सफल भएपछि वडालाई बालमैत्री घोषणा गरीएको हो ।
लुम्बिनी प्रदेश सभाका सदस्य कविराम थारुले एक औपचारिक कार्यक्रमका बिच वडालाइ बालमैत्री वडा घोषणा गर्दै बालबालिकाहरु भविष्यका कर्णधार तथा पहरेदार भएको हुँदा तिनतहका सरकारले बालमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर के सी ले बालमैत्री घोषणा पत्र प्रस्तुत गरेका थिए ।
बिशेष अतिथिको आसनवाट बोल्दै बासँगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले बालबालिकाका आधारभूत आवश्यकता पुरा गरिएकोले बालमैत्री वडा घोषणा गर्न नगरपालिका सफल भएको बताए । उनले आफुहरुलाइ सवै राजनितिक दल, संघसंस्था, बिद्यालयका बिशेष ब्यक्तित्वहरुले यस कार्यमा सहयोग गर्नु भएको बताउँदै यसको दिगोपनामा समेत वहाँहरुले सहयोग गर्नु हुने छ भन्ने आशा लिइएको धारणा राखेका थिए ।
घोषणा कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, सघं संस्था, संजाल लगायत सरोकारवाला बाल संरक्षकहरुले बालअधिकार सुनिश्चित गर्ने, बालमैत्री बाताबरण कायम राख्ने प्रतिबद्दता गर्दै सार्बजनिक प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा बालमैत्री वडा निर्माणका लागि बिशेष सहयोग गर्ने बिभिन्न बिद्यालय, संघसस्था, स्वयंसेविकालगायतलाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।