नेपालगन्जको त्रिभुवन चोकमा राखियो त्रिभुवनको शालिक

नेपालगन्ज : नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक पुनः राखिएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर राजावादीहरुले शनिबार बिहान राजा त्रिभुवनको अर्धकदको शालिक राखेका हुन् । शालिक स्थापना गर्दै राजा समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । शालिक स्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ ख का अध्यक्ष मोहमद सफिक बेहनाले राजा कुनै एउटा पार्टीको नभएर सबैको साझा भएकोले यहाँका एतिहासिक सबै चोकमा शालिक राखिने बताए । शालिक स्थापनामा राष्ट्रवादी सबै नागरिकको सहयोग रहेको भन्दै उनले कसैले शालिक हटाउने प्रयास गरेमा प्रतिकारमा उत्रिने चेतावनी समेत दिए । त्रिभुवन चोकमा झण्डै ६ दशक अघि स्थापना गरिएको शालिक गणतन्त्रको माग गर्दै भएको ०६२/६३ को आन्दोलनका बेला तोडफोड गरिएको थियो ।