नेपालगन्जमा ठूलो परिमाणमा ब्राउन सुगरसहित बर्दियाका एक जना पक्राउ

नेपालगन्ज : बाँकेमा ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार मंगलबार बिहान साढे ५ बजे नेपालगन्ज–१६, चौलिका चोकबाट १५० ग्राम ब्राउन सुगरसहित बर्दियाको बढैयाताल–१ शान्तिपुरका २४ वर्षिय प्रविन विसी पक्राउ परेका हुन् । विसीलाई जिप्रका बाँकेवाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको बेला फेला पारी चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको दाहिने खल्तीमा ३ वटा सेतो प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा ब्राउन सुगर र नगद तीन हजार भारु फेला पारेको डीएसपी न्यौपानेले जानकारी दिए । पक्राउ परेका विसी विगत १ वर्षदेखि लागूऔषध सेवन तथा कारोबार गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले भारतको रुपैडियाबाट काठमाडौं लैजाने उद्देश्यले नगद ४ लाखमा खरिद गरी लिएर आएको र अन्य व्यक्तिको समेत संलग्नता रहेको पाइएको न्यौपानेले जानकारी दिए । एउटै व्यक्तिबाट पक्राउ गरिएको यो लागूऔषध हालसम्मकै ठूलो परिणाममा भएको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार विसीको कसुर प्रमाणित भए १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।