महाशिवरात्रीमा गाँजाभाँङ खाने होइन, दूर्व्यसनको लत शिवमा समर्पित गरेर कुलत मुक्त हुने हो : ब्रह्मकुमारी दुर्गा

नेपालगन्ज : ब्रह्माकुमारी दुर्गाले गाँजा भाँङ सेवन गर्ने नभएर महाशिवरात्रीलाई आफ्नो लागूऔषध दूर्व्यसनको लतलाई शिवमा समर्पित गरेर कुलत मुक्त हुनुपर्ने बताएकी छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले मंगलबार नेपालगन्जमा पत्रकारबीच आयोजना गरेको स्नेह मिलन कार्यक्रममा ब्रह्माकुमारी दुर्गाले भगवान शिव पनि भाँङ धतुरो खाएर नशामा डुब्नेवाला नभएर भक्तजनलाई दूर्व्यसनबाट मुक्ति दिलाउन ग्रहण गरेको जिकिर गरिन् । उनले भनिन्, ‘यो शिवरात्रीमा हामी लागू पदार्थ दूर्व्यसन तथा गाँजा भाङ आदि नशालु वस्तुहरुको सेवनलाई न्यूनिकरण गर्न र रचनात्मक रुपमा मनाउने सन्देश दिन बाँके र बर्दियामा शिव दर्शन आध्यात्मिक झाँकी र -यालीको आयोजना गर्दैछौं ।’

कार्यक्रममा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी, बरिष्ठ पत्रकारद्वय पूर्णलाल चुके र निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डागी, प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले आध्यात्मिकपथमा रहेका पत्रकारले समाजलाई सद्मार्गमा डो-याउनेमा जोड दिएका थिए । परमात्मा शिव अवतरणको ८६औं महाशिवरात्रि महोत्सवको अवसरमा ब्रह्माकुमारीले ११ फागुनदेखि १७ फागुनसम्म ७ दिनसम्म बाँकेको फत्तेपुर, बिनौना, नरैनापुरबाट सुरु भएर बर्दियाका विभिन्न स्थानहुँदै नेपालगन्जसम्मको शिवदर्शन आध्यात्मिक झाँकी, -याली तथा शिवध्वजारोहरण तथा प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी गर्ने जनाएको छ ।