वडाध्यक्ष यादवद्वारा तलबभत्ता समाज सेवामा खर्च

बाँकेको डुडुवा गाउँपालिका–३का वडा अध्यक्ष भण्डारीलाल यादव

रमेशकुमार यादव । हलकारापूर्वा
स्थानीय तहका जनप्रतिनिधिलाई धेरैले जनताको विकास भन्दा आफ्नो मात्र विकासमा लागेको आरोप लाग्छ । बाँके जिल्लामै वडा तहमा पनि यस्ता जनप्रतिनिधि छन् जसले राज्यले जनप्रतिनिधि भए वापत दिएको सेवा सुविधा निस्वार्थ रुपमा जनताको सेवा सुविधामा खर्चेका छन् । तिनै मध्येका एक हुन्, भण्डारीलाल यादव ।
बाँकेको डुडुवा गाउँपालिका–३का वडा अध्यक्ष यादवले तलब/भत्ताबाट असहायको हित र सामाजिक विकासमा खर्च गरेका छन् । वडाका १०० अति विपन्न घरपरिवारका खानेपानीको व्यवस्था गरेका छन् । यादवले धर्मसंस्कृति रक्षाको लागि कहिले पछाडि नपरेको अध्यक्ष विभिन्न समस्या जस्तै गरीब परिवारको छोराछोरीको विवाह, औषधि उपचारलगायतको काममा पनि सघाएका छन् । उनले वर्षायामा सधैं हिलोको समस्या हुने हलबलडोली गाउँमा१ लाख रुपैयाँको लगातमा ३० मिटर बाटो पीसीसी गरेका छन् । अर्को एक लाख रुपैयाँमा बाबुपूर्वा गाउँमा रहेको मन्दिरको पूजारीलाई बस्ने कुटी पनि बनाएका छन् । गाउँटोलका बिरामी र दाहसंस्कारमा मात्र अहिलेसम्म ५ लाख रुपैयाँ बराबरको खर्च गरेको यादवले बताए ।
‘मैले अहिलेसम्म समाजसेवामा १२ लाख रुपैयाँ खर्च गरेको छु । सेवाको लागि राजनीतिमा आएको हुँ । तलबभत्ताको रकम सामाजिक विकासको क्षेत्रमा खर्च गरिरहेको छु’, यादव भन्‘यछन्, ‘जनताको सेवा नै मेरो धर्म हो । यहि हाम्रो कर्तव्य पनि हो । जनतालाई अधिकार र जनताको सेवा सुविधाप्रति जनप्रतिनिधि बनेर सेवा गर्न पाउँदा खुसी छु ।’
वडा सदस्य अमोड तिवारी पनि निस्वार्थ रुपमा आफ्नो तलबभत्ताबाट जनताको सेवा र जनताको काम गर्ने वडा अध्यक्ष यादव डुडुवा गाउँपालिकाका लागि गौरव भएको बताउँछन् । उनले मेरो खुसीसँग भने, ‘सरल स्वभावका वडा अध्यक्ष ज्यू समान्य पहिरनमा कार्यालय आउनुहुन्छ । उहाँका कारण अति विपन्न जनतालाई सहयोग भएको छ ।’ यहिले यादवलाई स्थानीयले तारिफ गरिरहेका छन्, ‘जनप्रतिनिधि हुनु त यस्ता पो !’