मलेसियन हाँसको मासु कसले खान्छ बाँकेमा ?

नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जले शुक्रबार बिहान ठूलो परिणाममा मलेसियन हाँसको फ्रोजन मासु बरामद गरेको छ ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार जानकी गाउँपालिका–१ साइगाउँ क्षेत्रबाट शुक्रबार बिहान ९ः३० बजेतिर १ क्वीन्टल ४० किलो मलेसियन हाँसको तैयारी अवस्थाको सिङ्गो हाँसको मासु बरामद गरेको बताए । खड्काले भने, ‘हाम्रो टोली पुग्दा बेवारिसे अवस्थामा २८/२८ किलोका ५ वटा कार्टुन भेटिएका थिए । जसमा प्रोडक्ट अफ मलेसिया लेखिएको छ ।’ डेनाभेष्ट फुड इन्डष्ट्रिजले उत्पादन र निर्यात गरेको यो मासु भारतको मुम्बइस्थित इम्पायर इन्डष्ट्रिज लिमिटेडले आयात गरेर नेपाल पठाएको देखिन्छ । तर नेपालमा भने कसले मगाएको हो भन्नेबारे पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । यति ठूलो परिणाममा अवैध रुपमा मलेसियन हाँसको मासु फेला परेपछि बाँकेमा यस्तो मासु कहाँ कसले उपभोग गर्छ भन्ने पत्ता लाग्न सकेको छैन । ‘यति गुणस्तरीय मासु नेपालगन्जका लागि हो जस्तो लाग्दैन । पक्कै पनि काठमाडौं सप्लाइ गर्न नेपालगन्ज नाकाबाट ल्याएको हुनसक्छ’, प्रहरी निरीक्षक खड्काले आशंका गरे ।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले अहिलेसम्म मलेसियन सिँगो हाँसको मासु भन्सार तिरेर आयात नभएको बताए । उनले भने, ‘स्टार होटलमा यस्तो मासु खपत हुनसक्छ तर उनीहरुले अवैध बाटोबाट ल्याउँछन् भनेर कल्पना पनि गर्न सकिँदैन ।’ प्रहरीले शुक्रबार नै मलेसियन हाँसको मासुसँगै ९ वटा कार्टुनमा (प्रति कार्टुन ४५ किलोको दरले) ४ क्वीन्टल ५ किलो ब्रोइलर कुखुराको बोनलेस तैयारी मासु पनि बेवारिसे अवस्थामा नै फेला पारेको थियो । माछा, मासुजन्य पदार्थ आयात गर्दा पशु क्वारेन्टाइन कार्यालयले निरोगिताको प्रमाणपत्र र खाद्य गुणस्तर कार्यालयले खानयोग्य भएको प्रमाणित गरेर भन्सार तिरेर आयात गर्न सकिन्छ ।