‘बाँके-बर्दियामा बाघ बढे, निकुञ्ज क्षेत्र पनि बढाऔं’

बाँके राष्ट्रिय निकुञ्जमा भेटिएको पाटेबाघ । फोटो सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

नेपालगन्ज : बाँकेमा अहिले बाघ देखिनु र यसको आक्रणमा पर्नु नयाँ घटना हुन छाड्यो। अन्य स्थानमा भन्दा राप्तीसोनारी गाउँपालिका क्षेत्रमा बाघको चहलपहल बढी हुन्छ। यो निकुञ्ज नजिकको क्षेत्र हो। यो वर्ष मात्र बाँकेमा बाघ आक्रमणबाट पाँच जनाको मृत्यु भयो। दर्जनौं आक्रमणबाट नागरिकले ज्यान जोगाएको उदाहरण भेटिन्छन्।

राप्तीसोनारी गाउँपालिका–६ गुलरी गाउँका ६० वर्षीय धनबहादुर चलाउनेको गत ७ फागुनमा ढलैयाको जंगलमा बाघको आक्रमणबाट मृत्यु भयो। २४ घण्टा नबित्दै राप्तीसोनारी–७ झगडिया गाउँका ३२ वर्षका वकिल गद्दी बाघको आक्रमणबाट घाइते भए। निकुञ्जभन्दा दक्षिणको कम्दी जैविक मार्ग क्षेत्रमा पर्ने राप्तीसोनारी ३ र ६ क्षेत्रमा स्थानीयले बुधबार दिउँसो २ वटा छुट्टाछुट्टै बाघ प्रत्यक्ष देखेका बताउँछन्। बाघसँगको जम्काभेटले ज्यानै जाला भन्ने पीर स्थानीयमा थपिएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका—४ सैनवारकी ४५ वर्षीया लिली थारू गत मंगलबार साँझ ७ बाघको आक्रमणमा परिन्। बंगुरलाई आहार दिन जाने क्रममा पाटेबाघको आक्रमणबाट उनको ज्यान जोगिएन। सैनवार बर्दिया निकुञ्जसँगै जोडिएको गाउँ हो। बाघले घरमै आएर आक्रमण गर्‍यो। यो वर्ष मात्र बर्दियामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गयो।

बर्दिया–बाँके कम्प्लेक्समा पछिल्लो समय निकुञ्जभन्दा बाहिर पाटेबाघको आक्रमण बढ्दो छ। विगत तीन वर्षमा बाघ आक्रमणबाट मृत्यु भएको तथ्यांक विश्लेषण गर्ने हो भने ४० प्रतिशत मृत्यु निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिर भएको देखिन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाका अनुसार तीन वर्षको अवधिमा बाँके–बर्दिया कम्प्लेक्समा बाघको आक्रमणबाट २९ जनाको ज्यान गइसकेको छ।
बर्दियामा निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिर बाघको आक्रमणबाट मृत्यु ३६ प्रतिशत छ। बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १४ जनाको र खाता जैविकमार्ग क्षेत्रमा ८ जनाको बाघ आक्रमणबाट मृत्यु भएको कडरियाले बताए। बाँकेमा त निकुञ्जभन्दा बाहिर आएर बाघले आक्रमण गरेर निधन भएको ५७ प्रतिशत छ।

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रमा ३ जना र कम्दी जैविक मार्ग क्षेत्रमा ४ जनाको बाघ आक्रमणबाट ज्यान गएको छ। निकुञ्जभन्दा पर राप्तीपारि रहेको राप्तीसोनारीमा ३ जना र नरैनापुर क्षेत्रमा १ जनाको ज्यान गएको छ। निकुञ्ज क्षेत्र साँघुरो भएकाले पाटेबाघ आहारको खोजीमा निकुञ्ज बाहिर पुगेको देखिन्छ। यी घटनाक्रमले बर्दिया–बाँके कम्प्लेक्समा बाघ निकुञ्जभन्दा बाहिर भेटिनुले बाघ–मानव द्वन्द्वका घटना बढेको सहजै अनुमान लगाउन सकिन्छ। यसले मानव सुरक्षा चुनौती बढाएको छ। बाँके र बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वनमा बाघको संख्या बृद्धि भएको बाघ संरक्षणकर्मीहरू बताउँछन्। यद्यपि बाघको संख्या कति छ भन्ने यकिन गर्न राष्ट्रिय बाघ सर्भेक्षण–२०२२ को काम जारी छ।

बाँके राष्ट्रिय निकुञ्जमा भेटिएको पाटेबाघ । फोटो सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

बाँके निकुञ्ज विस्तारको माग
बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघले मान्छे मार्न थालेपछि संरक्षणकर्मी नै बाघ संरक्षणका लागि निकुञ्जको क्षेत्र विस्तार गर्नुपर्ने माग गरिरहेका छन्। यहाँ निकुञ्ज विस्तारको सम्भावना र आवश्यकता दुवै देखिन्छ। कोहलपुर मध्यवर्ती क्षेत्रका अध्यक्ष सावित्रा पुन बाँके निकुञ्जमा बाघ कम्तीमा पनि ३०/३२ पुगेको आकलन गर्छिन्। ‘बाघ बढे। अब निकुञ्ज विस्तार गर्न जरुरी छ। निकुञ्ज विस्तार कसरी गर्न सकिन्छ ? यो विषयमा सोच्ने बेला आएको छ। अध्यक्ष पुन थप्छिन्, ‘निकुञ्जभन्दा बाहिर पानीका स्रोत छन्। चुरे दोहनले निकुञ्जमा पानीका स्रोत सुक्दै गएका छन्। जनावर पानी खान आउँछन्। वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको छ।’

राप्तीसोनारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर विष्ट पनि निकुञ्जभन्दा बाहिर बाघको आक्रमणबाट मान्छेको मृत्यु भएमा राहत नदिने व्यवस्थाले निकुञ्ज क्षेत्र नै विस्तार उपयुक्त हुने बताउँछन्। ‘बाघबाट मध्यवर्ती क्षेत्रका जनता त्रसिद छन्। छाडा चौपायालाई आहार बनाउने भएकाले भोलिका दिन बाघ अझै बस्तीमा आउने खतरा छ।’, उनी भन्छन्। ‘निकुञ्जमा पानीका स्रोत सुक्दै जाँदा पानी खान वन्यजन्तु राप्ती नदीमा आउँछन्। मानव–वन्यजन्तु द्वन्द्वको कारण यो पनि हो। यसको उचित व्यवस्थापन गर्न जरुरी छ,’ उनले थपे।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री पनि बाँके निकुञ्जले धान्न सक्ने भन्दा धेरै बाघ भएको जिकिर गर्छिन्। भन्छिन्, ‘निकुञ्जले धान्न नसक्नेभन्दा बढी बाघ भएका हुन् भने निकुञ्ज क्षेत्र बढाएर हुन्छ। कि अरू कुनै विधिबाट बाघको व्यवस्थापन गरेर जनताको जिउज्यानको रक्षा गर्नुपर्छ।’

बाँके निकुञ्ज प्रमुख श्यामकुमार साह पनि बाँके निकुञ्ज विस्तारको माग जायज भएको बताउँछन्। उनी दक्षिणमा राप्ती नदीसम्म र पूर्वमा दाङको अर्जुन खोलासम्म निकुञ्ज विस्तार गर्न सकिने बताउँछन्। उनले अनुभव सुनाए, ‘सुरुमा नै राप्ती नदीसम्म निकुञ्ज विस्तार गरेको भए राम्रो हुन्थ्यो। अहिले त निकुञ्जको आसपासमा जंगल नजिकै बस्ती छ। जुन कुनै बेला पनि वन्यजन्तुको हमला हुने खतरा हुन सक्छ।’
बर्दिया निकुञ्जलाई खाता जैविक मार्ग र सुर्खेतमा चुरे क्षेत्रमा मध्यवर्ती क्षेत्र केही विस्तार गर्ने सम्भावना छ। निकुञ्ज विस्तारको काम स्थानीय स्तरबाट भन्दा पनि सरकारकै तहबाट गर्नुपर्ने निकुञ्जका अधिकारीहरू बताउँछन्। ‘कति क्षेत्र विस्तार गर्न सकिन्छ ? कहाँकहाँ विस्तार गर्ने हो भन्ने अध्ययन हुन जरुरी छ’, एक अधिकारीले भने, ‘जनस्तरबाट समर्थन लिएर सरकारले निकुञ्ज विस्तार गर्नसक्छ। त्यसो गर्न सकेमा बाघलगायतका वन्यजन्तु संरक्षणमा मद्दत मिल्नेछ।’

बाघ इलाकाको अध्ययन
बाघ जंगलमा आफ्नो इलाका (क्षेत्र) बनाएर बस्छ। उसको इलाकामा अरू बाघ आउँदा बाघले आक्रमण गर्छ। त्यो इलाकामा अरू बाघलाई आउन दिँदैन। बाघबीच पनि द्वन्द्व हुन्छ। नेपालमा बाघ संरक्षणको पहल भए पनि संरक्षित क्षेत्रमा यसको संख्या कति हुनुपर्ने हो भन्ने विषयमा अध्ययन सुरु भइरहेको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा अध्ययन भइसकेको छ। बाघ सर्भेक्षण– २०२२ सँगै बर्दिया–बाँके कम्प्लेक्समा कति बाघ हुनुपर्ने हो भन्नेबारे अध्ययन भइरहेको छ। बाँके निकुञ्ज प्रमुख श्यामकुमार साह अहिले नै बाँके निकुञ्जले धान्ने बाघको संख्या कति हो भन्न नसकिने बताउँछन्। सर्भेक्षणको रिपोर्ट आएपछि बाघ व्यवस्थापनको नयाँ रणनीति सुरु हुने उनको भनाइ छ। बर्दियामा पोथी बाघ १० वर्गकिलो मिटरमा र भाले बाघ ७५ देखि १०० वर्गकिलोमिटरमा पाइएको छ। ‘एक सय वर्ग किलोमिटरमा एउटै बाघ हुन्छ भन्ने हुँदैन। अरू बाघको पनि ओहोरदोहोर हुनसक्छ’, कडरिया भन्छन्।
बाघविज्ञ चिरञ्जीवीप्रसाद पोखरेल नेपालमा पोथी बाघको २५–४० वर्गकिलोमिटरमा र भाले बाघ ४०–१०० वर्ग किलोमिटरमा क्षेत्र रहने गरेको बताउँछन्। बाघकै विषयमा विद्यावारिधि गरेका पोखरेल राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक हुन्। उनी पनि बाघ संरक्षण गर्दै गर्दा निकुञ्ज क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिन्छन्। ‘निकुञ्ज क्षेत्र विस्तार गर्न सकेमा मानव–बाघ द्वन्द्व घटाउन सकिन्छ। क्षेत्र विस्तार गर्न नसकेमा भने मानिसले जंगलमा आश्रित जीवन परिवर्तन गर्नुपर्छ’, उनी भन्छन्, ‘सामान्यतः मान्छे बाघको आहार होइन। घाइते, बिरामी, बुढो, अन्य क्षेत्रबाट लखेटिएको बाघले बाध्यतावश मानिसलाई आहार बनाउँछ। बाघको आक्रमणबाट अधिकांश मृत्यु वन क्षेत्रमा भएको छ। त्यसैले जंगलबाट ल्याउने घाँस, दाउराको विकल्प खोज्नुपर्छ।’

सन् २०१८ को बाघ गणनाकै बेला बाघको आहाराजन्य वन्यजन्तुको गणना गर्दा बर्दियामा ७७ प्रजातिका आहार पाइएका थिए। यही अध्ययनले बाँके निकुञ्ज क्षेत्रमा भने ८ प्रजातिका आहाराजन्य वन्यजन्तु भेटिएको डा. कडरिया बताउँछन्। आहारा प्रजातिको आधारमा पनि बाघको क्षेत्र कति भनेर निर्धारण हुने अधिकारकर्मीहरू बताउँछन्। परिकल्पना नगरेको क्षेत्र चुरे क्षेत्रमा पनि बाघ देखिएकाले बर्दिया–बाँके कम्प्लेक्समा एउटा बाघको क्षेत्र कति हो एकीनसँग भन्न सकिने अवस्था छैन।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ बढ्दै गएकाले पनि आफ्नो क्षेत्र विस्तार वा नयाँ क्षेत्रको खोजीमा बाघ सामुदायिक वन वा मानव बस्तीतिर जाने गरेको बाघ अधिकारकर्मीहरू बताउँछन्। विश्वमै सबैभन्दा धेरै बाघ भएको भारतमा भने बाघको संख्या बढी भएका संरक्षण क्षेत्रबाट बाघ स्थानान्तरणको अभ्यास भइरहेको छ। जस्तो भारत बिहार वाल्मीकि टाइगर रिजर्भको क्षेत्रफल ९९० वर्गकिलोमिटर छ। जसको क्षमता ४० बाघको हो। क्षमताअनुसार बाघको संख्या पुगिसकेको छ। संख्या धेरै भएका कारण बाघ आपसी द्वन्द्वमा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१८ मा गरेको एक अध्ययनले सन् २०१४ देखि २०१८ सम्म मात्र आफ्नो क्षेत्रको रक्षा वा अतिक्रमण (नयाँ क्षेत्र विस्तार) गर्ने लडाइँमा ८ वटा बाघ मरेको देखाएको थियो। तीमध्ये लडाइँमा हारेर खानेकुराको खोजीमा बस्ती पसेका दुई वटा बाघ मान्छेको प्रतिकारमा मारिएका थिए।

वाल्मीकि टाइगर रिजर्भकै हाराहारीमा ९६८ वर्गकिलोमिटरमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा छ। त्यहाँभन्दा बर्दियामा दोब्बरको हाराहारी अर्थात् ८७ बाघ छन्। वाल्मीकि टाइगर रिजर्भभन्दा झन्डै आधा क्षेत्रफल ५५० वर्गकिलोमिटरमा रहेको बाँके राष्ट्रिय निकुञ्जमा २१ बाघ छन्। यो गणनाले बाघको संख्या अझैं बढ्ने देखिएको छ। ३० को हाराहारीमा बाघ पुग्ने आकलन छ। त्यसैले बाघ–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि निकुञ्ज क्षेत्र विस्तारको खाँचो देखिएको छ।

किन जोगाउने बाघ ?

पर्यावरणको सन्तुलन चक्रमा बाघ सबैभन्दा माथि हुन्छ। अर्थात् पर्यावरणीय सन्तुलनका लागि बाघ अनिवार्य छ। यदि संसारबाट बाघ नै सकिए भने अरू जनावर पनि नहुने विज्ञ बताउँछन्। जहाँ बाघ हुन्छन्, त्यहाँ वन हुन्छ। उसका आहारा प्रजातिका घाँस खाने जनावर हुन्छन्। ती बाँच्न पानी र घाँस चाहिन्छ। र, जहाँ हुन्छन्, त्यहाँ जैविक विविधता हुन्छ। त्यसैले बाघ बाँचे छाता जसरी सुरक्षा हुन्छ, वन्य जीवन जोगिन्छ भन्ने तर्क विज्ञको छ।

यसलाई मध्यनजर राख्दै नेपालमा सन् २००९ देखि राष्ट्रिय रूपमा बाघ गणना सुरु भएको हो। सन् २०१० मा रसियामा सम्पन्न विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो। त्यत्तिबेला नेपालमा १५५ बाघ मात्र थिए। सन् २०१८ को गणनामा नेपालमा २ सय ३५ बाघ छन्। बाघ सर्भेक्षण–२०२२ को नतिजाले यो लक्ष्य सजिलै पुग्ने आकलन गरिएको छ। योसँगै संरक्षित क्षेत्रमा बाघ–मानव द्वन्द्व घटाउने उपायको खोजी गर्नुपर्ने आवाज उठिरहेको छ। स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक