बाँकेलाई साक्षर जिल्ला घोषणा गराउन विभागको चाँसो

नेपालगन्ज : साक्षर जिल्ला घोषणामा भइरहेको ढीलाई र तयारीका सम्बन्धमा जानकारी लिन शिक्षा तथा मानव विकास स्रोत केन्द्र सानोठीमी भक्तपुरले शुक्रबार नेपालगन्जमा साक्षर नेपाल बर्ष कार्यक्रम कार्यान्वयन सम्वन्धी स्थानीयतहका पदाधिकारीसंग अन्तरकृया गरेको छ । बाँके जिल्लालाई आगामी चैत मसान्तसम्म साक्षर जिल्ला घोषणा गर्न चाँसो देखाउँदै विभागले सरोकारवालाहरुसंग छलफल गरेको हो ।
कार्यक्रममा विभागका महानिर्देशक चुडामणी पौडेलले सामाजिक बिकास र शिक्षाको बिकास नभएसम्म स्थानीय तहले निर्माण गर्ने भौतिक संरचनाको बिकासले सार्थकता नपाउने हुँदा सबै नागरिकलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ अगाडी बढ्नुपर्ने बताए ।
विश्व कहाँवाट कहाँ पुगिसक्दा पनि यहाँ दुई अक्षर लेख्नको लागि अझै घोषणा गर्न दौडीरहनु परेको अवस्था आएकोले कम्तीमा लेख्न पढन सक्ने भएपछि संसार संगसंगै हामी हिडन सक्छौ भनेर पनि यो अभियानलाई फेरी जोडेर लगेको उनको भनाई छ । ‘एक्काईसौ सताब्दीमा संसार ग्लोबलाईजेसनको युगमा एकातिर पुगिसकेको अवस्थामा छ’ उनले भने ‘हामी भने अझै लेख् पढ् भन्दै सिकाउदै हिडनु पर्ने अवस्थामा छौ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बाँकेका सबै पालिका र सरोकारवाला सबैको प्रतिबद्धताले बाँके जिल्ला साक्षर जिल्ला चाँडै घोषणा हुने बिश्वासमा रहेको बताए ।
बाँकेका ८ स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर र डुडुवा गाउँपालिका साक्षर घोषणा हुन बाँकी रहेका छन् । साक्षर घोषणा हुन बाँकी जिल्लाहरुमा साक्षरताका लागि गरिनुपर्ने थप प्रयत्नको आधारमा ख बर्गमा रहेको बाँके जिल्ला चाँडै साक्षर घोषणा गर्ने तयारीमा जुटेको छ ।