लिग फुटबल : उद्घाटन खेलमा ओशोनिकको जित

नेपालगन्ज : बाँके जिल्ला लिग फुटबल प्रतियोगिता शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
बाँके जिल्ला फुटबल संघ (एन्फा)ले नेपालगन्ज रंगशालामा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । ओशोनिकलाई जिताउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे ।
क्षितिजले २५औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा धम्बोझी र कारकाँदोबीचको खेल १–१ को बराबरीमा सकिएको छ । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । कारकाँदोका सृजन बकीले ५१औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए । ३० फागुनसम्म सञ्चालन हुने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन । लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब र समूह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यू डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउनेछ ।