नेपालगन्ज-१८ मा फेरि अर्को कालोपत्रे सडक शिलन्यास

नेपालगन्ज : बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१८ ले फेरि अर्को कालोपत्रे सडकको शिलन्यास गरेको छ ।

नेपालगन्ज-१८ को प्रहरी तालिम केन्द्रदेखि पश्चिम एनआइसी एशिया बैंक तथा होटेल क्लाउड नाइनको छेउबाट मानव धर्म सेवा आश्रम हुँँदै सागरमाथा बोर्डिङ स्कुल तथा सो उत्तर दीपनगर हुँदै कारकाँदो गाउँदेखि बाईपास जोडने सडकको बिहीबार वडा अध्यक्ष दीपक वर्माले शिलन्यास गरेका हुन् । ३ करोड रुपैयाँको लागतको सडकमा आरसीसी नालासहित कालो पत्रे हुनेछ । अहिले सडक बनिरहेको क्षेत्र वडाको धेरै पूरानो टोल भएकाले टोलको लागि बजेट ल्याएर सडक निर्माण गर्न चुनौती भए पनि जनताको सेवाका लागि सफल भएको वडाध्यक्ष वर्मा बताउँछन् । शिलान्यास कार्यक्रममा टोलबासीको बाक्लो उपस्थिति थियो । सडक बन्ने भएपछि टोलबासीमा खुसीयाली छाएको छ । यसअघि कारकाँदोमा रहेको भाट भटेनीदेखि पश्चिम् कान्तिपुर पब्लिकेशनको कार्यालय हुँदै श्रीनगर टोल जाने सड्क कालो पत्रेका लागि शिलान्यास भएको थियो । वडा अध्यक्ष वर्माका अनुसार वडामा अझ धेरै सडकको योजना रहेको छ । यही आर्थिक वर्षमा अरु सडक बन्नेछन् । नेपालगन्ज– १८ मा चालु आर्थिक वर्षमा यस अघि नै ३ वटा सडक कालोपत्रे र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइसकेका छन् । २ वटा कालोपत्रे र ३ वटा पीसीसी सडक निर्माण जारी छन् । अरु सडक पनि निर्माणको तयारीमा रहेको वडा अध्यक्ष वर्माले जानकारी दिए ।