माओवादीको कांग्रेसीकरण सुरु भएको छ : नेता बास्कोटा

नेपालगन्ज : नेकपा एमालेका पोलिट व्युरो सदस्य गोकुल बास्कोटाले माओवादी केन्द्रमा कांग्रेसीकरण भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले वर्तमान सत्तागठबन्धनका दल कांग्रेस कि माओवादीकरण हुनुपर्ने कि माओवादी कांग्रेसीकरणको दिशामा अघि बढेको बताए । उनले भने, ‘पछिल्लो घटनाक्रमले माओवादीमा कांग्रेसीकरणको प्रक्रिया सुरु भइरहेको छ । त्यसमा हाम्रो एमालेबाट गएका माधव नेपाललगायतको पनि साथ छ ।’ उनले प्रचण्ड जहिले पनि सत्तावादी भएको टिप्पणी गरे ।
पत्रकारको जिज्ञासामा अधिकांश जवाफमा सत्तागठबन्धनलाई गाली गर्नमै खर्चिएका उनले सत्ताधारी दलको एकतालाई ठग गठबन्धनको संज्ञा दिएका थिए । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य, प्रचार विभाग उप-प्रमुख, तथा दैलेख जिल्ला सह-इन्चार्ज प्रमुख विष्णु रिजालको पनि सहभागिता रहेको थियो ।